मेरो गाउँघरमुनि एउटा ठूलो पिपलको रूख थियो ।

त्यसकै हाँगामा चराचुरुङ्गीहरू घर बनाउँथे र नयाँ जीवन हुर्काउँथे ।

मानिसहरू आराम गर्थे, बाघचाल खेल्थे, पाञ्चाली राख्थे, मनोरञ्जन गर्थे ।

चौतारी मुनितिर चौपाया पनि शीतल ताप्दै, घाँस उग्राउँदै पाखुर मार्थे ।

एक दिन कसैले गाईलाई घाँस दिन भन्दै पिपल काटेर ठूलो भारी लग्यो ।

धेरै बेरसम्म पिपलबाट सेतो अमृत आँशु बनेर झर्‍यो, कसैले वास्ता गरेनन् ।

म त्यतिबेला त्यही बोटकै काखमा रहेको प्रा.वि. स्कुलमा ४ कक्षामा पढ्थेँ ।

मैले आमालाई सोधेँ, “आमा यो के हो ?”

आमाले ज्यादै संवेदनशील भएर भन्नुभयो, “बाबु, यो त पिपलको रस हो नि ।”

मैले फेरि उत्सुक हुँदै प्रश्न तेर्स्याएँ, “आमा रूखलाई पनि त घाउ लागेको छ । के उसको उपचार गर्नु पर्दैन ?”

“लाग्न त लागेको छ बाबु तर रूख बोल्न सक्दैन, त्यसैले मानिस वास्ता गर्दैनन् ।” आमाले मलाई सरल र यथार्थ जवाफ दिनुभयो ।

“अनि त्यसो भए मान्छे पनि त मर्ने बेलामा बोल्न सक्दैनन् रे नि !” म उत्तेजित भएँ ।

मेरो मुखभरिको जवाफ सुनेर आमा एकछिन अवाक् हुनुभयो र भन्नुभयो, “बाबु ल मैले आजबाट आँशुको मौन आवाजलाई सुन्ने प्रयत्न गर्छु । बरु जाऔँ हिँड, मूर्च्छा परेको पिपलको रूखमा पानी हालौँ ।”

केही दिनपछि रूख फेरि उस्तै भयो र रूखमा फेरि जीवन पलायो ।

जब जब म गाउँ जान्छु, तब तब रूखलाई अपुग अँगालो मार्छु र मलाई लाग्छ—

रूख बोल्दैन तर रूखको मौन पीडा सुन्न सक्ने कान मानिससँग हुनुपर्छ ।