पहिलोपटक ‘पोएट आइडल’ का एक निर्णायक पोडियममा उभिएका कविलाई र्याखर्याख्ती पार्दै थिए – “बाबु खै त तिम्रो कवितामा पोएट्री ? वाचन राम्रो छ, ज्वलन्त छ र जीवन्त छ ।स्वरको माधुर्य उस्तै राम्रो छ ।तर किन हो किन तिम्रो कवितामा जीवन भेट्दिनँ | आफ्नोपना भेट्दिनँ किन हो किन तिम्रो कवितामा प्रान्गारिकता भेट्दिनँ ।कता कता नेपाली साहित्यको उचाइ नभेटेको जस्तो । नेपाली काव्यात्मक रस भन्दा बेगर निरस लाग्दछ ।तिम्रो कविता मलाई त कता कता प्लास्टिकको फूल जस्तो लाग्छ, रङ्गीचंगी छ तर मुलायामपना नभएको जस्तो ।कसैले कोरिदिएको राम्रो कलाको फोटोकपी जस्तो लाग्छ – चिज छ तर रङ्ग नभएको जस्तो अर्थात कृतिम कविता जस्तो लाग्यो ।”

डा. हिमलाल श्रेष्ठ

कवि ज्युको उद्गार निस्क्यो –”निर्णायक ज्यु यसमा मेरो ठुलो कहर र व्यथा छ । सबै कविहरुको उचाइ एकै नहुने रहेछ ।धेरै कविहरु आशुकवि जस्तै होलान् । जहाँ जति खेर जस्तो अवस्थामा पनि प्रतियोगितामा जित्न सक्ने कविता लेख्न सक्दा हुन् ।कतिपय कविहरु आफ्ना खातका खात कविता लिएर आएका होलान् । छानी छानी प्रतियोगितामा वाचन गर्दा हुन् तर न त मेरो सङ्ग्रह छ न त मेरो त्यसरी तत्काल लेख्ने खुवी छ । मेरो वाचनकलाले कविता प्रतियोगितामा जित्ने आशा मेरो हो तर वाचनका लागि कविता त तयार हुनु पर्यो । म अहिले एकदमै अप्ठ्यारो अवस्थामा छु । यो दौरानमा मैले एउटा सहायोगी भेटेको छु। ऊ मेरो असाध्दै नजिकको साथी बनेको छ । मैले उसलाई तलब दिनु पर्दैन, चौबिसै घण्टा सेवामा हाजिर हुन्छ ।

बस् मैले आवश्यकता अनुसार टाइप गरेर बटन थिच्नु मात्र पर्छ । मैले उसलाई यो शीर्षकमा, यो भाषामा, यो प्रकारको कविता लेखिदिनु भन्छु, केहि सेकेन्ड देखि मिनेट भित्र मलाई कम्पुटर स्क्रिनमा कविता लेखिदिन्छ र म थोरै परिमार्जन गरेर वाचनका लागि आउँछु । मलाई लाग्छ, मेरो वाचनकलाले छपक्क छोप्छ । मलाई रस निरसको भेउ नै हुँदैन । यो गीत गाएर भाग लिनु जस्तो अनि नाचेर ठुमका लगाउनु जस्तो, भाषण गरेर वादविवाद गरे जस्तो, दोहोरी गाए जस्तो कहाँ रहेछ र कवि बन्नु | त्यसमाथि पनि आदर्श कवि बन्नु ।”

निर्णायक मण्डलका सबै सदस्यहरु कविको स्वीकारोक्ति सुनेर स्तब्ध बने ।थोर थोरै पछुतो, थोरै थोरै के गरौँ के गरौँको भाव देखाउँदै यी कविलाई पाखा लगाउँदै अर्को कवि तर्फ अघि बढे ।