सुमित्रा र कैलासका दुई सन्तान शीला र उमेश, क्याम्ब्रिज युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गर्दै थिए ।
पचास वर्ष पार गरेका कैलास र सुमित्रालाई नपुग्दो केही थिएन ।
कैलास व्यापारकाे सिलसिलामा कहिले हङ्कङ् पुग्थ्यो त कहिले सिङ्गापुर । व्यस्तताकै कारण दुई जोईपोइबीचको भेटघाट औंसी-पूर्णिमा झैँ हुने गर्दथ्यो । सुमित्राभित्र आनन्दभोगका ज्वारहरु निरन्तर उठ्थे अनि सेलाउँथे । लोग्ने भएर पनि नभए समान थियो उसको जीवन ।
‘यो कस्तो बिडम्बना ! मेरो लोग्ने मुक्त पंक्षी, अनि म पिंजडाकाे सुगा ! के महिलाको जन्म घरको चार दिबारभित्र कैद भएर बस्नकै लागि भएको हो र ! चूरा फुटेजस्तै प्याट्ट फुट्न बेर नमान्ने अस्थिर यो जीवनमा पिरतीको पारिलो घाम कहिले ताप्ने ?’ रातको निस्तब्धतामा ऊ भुट्भुटिन्थी ।
सुमित्राले एक्लोपनबाट मुक्ति पाउनकै लागि ठमेलको एक घरबाट मसाज पार्लरको व्यवसाय सुरु गर्न थाली । उसको मसाज पार्लर धनसँग सन्तुष्ट बिनिमय गर्न चाहने सहरीया नव धनाढ्यहरुको रोज्जा स्थल बन्न पुग्यो ।
दिनहरु यसरी नै बित्दै गए ।
अलिपछिको घटना हो । त्यो दिन प्रायः सबै अखबारमा एउटा सनसनीपूर्ण खबर छापिएको थियो । खबर सोसियल मिडिया-सामाजिक सञ्जालको माध्यमबाट क्षणभरमा संसारका कुनाकुनामा पुग्यो । लण्डनमा अध्ययनरत छोराछोरी उमेश र शीलाले साइनाइडको गोली निले । साइनाइड निल्नुपूर्व शीला र उमेशले सुसाइट नोट लेखेका थिए ।
कुरा बैशाख महिना बाह्र बजे रातिको हो । मध्यरात्रिको समयमा सुमित्राको मसाज पार्लरमा प्रलयकारी भूकम्पले धक्का दियो । जसले कैलास र सुमित्राको दाम्पत्य जीवन मात्र नभएर सम्पूर्ण घर परिवारलाई निमेशभरमा खण्डहरमा परिणत गरिदियो ।
पत्रिकाले त्यस रात मसाज पार्लरमा घटेको घटनाको ब्यहोरा दिँदै लेखेको थियो ‘…ठमेलस्थित मसाज पार्लरमा गएराति प्रहरीको छापा । व्यवसायी सुमित्रा तीस बर्षे युवकसँग यौन कृडारत अवस्थामा प्रहरी नियन्त्रणमा !’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।