एक कुनै गाउँमा दुई बाबुछोरा-चन्द्रकान्त र पवन बस्दथे। पिता सालिन भए पनि पुत्रको स्वभाव उद्दण्ड थियो, हठी थियो। ऊ आफूलाई सर्वस्व ठान्थ्यो, आफैँलाई ईश्वर मान्ने उसका अहङ्कारले कति बेला उसैलाई खाल्डोमा हाल्छ कसैले भन्न सक्दैन । तर पिताले अनुमानसम्म त यसै पनि गरेका थिए।
एकदिन चन्द्रकान्तका कानमा पुलिसको आवाज टेलिफोनमार्फत गुञ्जियो। कर्णप्रिय नभएर कर्णकटु आवाजले उनलाई देखावटी रूपमा चकित बनायो तर मनमा स्वाभाविकै थियो।
आवाजमा विषय उही-“तपाईंका प्रिय पुत्र हामी मामाहरू साथमा छन्। चिन्ता नगरिसेला।”
चन्द्रकान्तले कुरा त बुझे, सायद भरसक प्रयास पनि गरे होलान् भित्रभित्र छुटाउने, सम्भव भएन र थिएन पनि। चन्द्रकान्तसँग अब सहज रूपमा छोरो छुटेको हेर्ने प्रतीक्षा मात्र रह्यो। “होसले चला, सडक तेरो मात्र होइन, तेरा बाबुको मात्र पनि होइन, साझा सम्पत्तिलाई पेवा ठान्नु मूर्खता हुन्छ,यस्तो कहिल्यै नगरेस्।” बाबु चन्द्रकान्तले कैयौँ पटक यिनै शब्दवाणले नघोचेका होइनन्, नसम्झाएका होइनन्। मूर्खस्य बल हो ठिङ्गा पवनले कहिल्यै सुनेनन्।उल्टो असललाई विष मान्थ्यो र विषलाई अमृत ठानेर पिउँथ्यो। यसकै परिणाम थियो यो।
पवन रिहा भएपछि पनि चन्द्रकान्तले यी र यस्ता कुरा धेरै सम्झाए तर ऊ उस्तै। बिस्तारै, गति मन्द, सतर्क आँखा दायाँ बायाँ, झिङ्गा उडे पनि जोगाउन मिल्ने गतिमा उसको गाडी गुड्न थाल्यो। परै गाडीको नम्बर देखेरै भाग्ने, जोगिने व्यक्ति पनि अब पवनको गाडीको गुडाइ देखेर शरीर यसमै छुवाउँदै हिँड्न लागे। यो दृश्य पिता चन्द्रकान्तका आँखामा पर्नासाथ उनी सोच्न लागे-“सायद पिताबाट हार खान चाहँदैन ऊ, पिताका उपदेश शिरोधार्य गरेको देखाउन चाहँदैन ऊ,मलाई पनि छोरो हारोस् पिताबाट भन्ने कहाँ छ र! बानी सुध्रोस्, दुर्घटना नहोस्, उसकै काखमा मरेर पिण्डपानी खान पइयोस् भन्ने न हो । आहा ! अव्यक्त,अस्विकार्य सतर्कता मेरो…पुत्र…मेरो प्राण…”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।