पाँच हजार रुपियाँ तिरेर उसले पण्डित ब्रान्डको सेतो सर्ट किनेको थियो । त्यही सर्ट लाएर कलेजमा गएर रवाफ देखायो । उसका प्रिय साथीहरूले तारिफ गरेर झन् माथि पुर्‍याए ।

अर्को दिन त्यस्तै सर्ट अर्कोले लगाएर कलेजमा आयो ।

उसले सोध्यो, “कतिमा किनेको ?”

जवाफमा भन्यो, “पाँच सय !”

त्यो सुन्नासाथ झस्कियो । उसका प्रिय मित्रहरूले पनि नाक खुम्च्याए । उसलाई सर्ट लगाइरहूँ कि, कन्टेनरमा फ्याँकिदिऊँ झैँ भयो ।

केही बेर गहिरो सोचमा परेपछि उसले जुक्ति निकाल्यो । साथीहरूमाझ भन्यो, “हेर साथी हो ! मैले पण्डित ब्रान्डको सर्ट पाँच हजारमा किनेको हो । मसँग बिल छ । त्योसँग छ कि छैन सोधौँ न !”

सबैले समर्थन जनाई, गएर सोधे । त्यसले आफूसँग बिल नभएको बतायो । त्यसपछि तुरुन्तै आवाज आयो, “यस्तो सर्ट पाँच हजारमा किनेको बिल देखाएपछि मात्र लाउन पाइन्छ । नत्र च्यातिन्छ है, होशियार !” ठूलै जमातले भनेपछि त्यो बिचराले घोसेमुन्टो लाएर केही प्रतिक्रिया जनाएन ।

कक्षा कोठा अगाडि तीनचार जना साहित्यको विद्यार्थी आपसमा भन्दैथिए, “अचेल शास्त्रीय नियम देखाएर स्वतन्त्र लेख्नेहरूलाई खूब हेप्न थाले यार !”

अर्कोले थप्यो, “पुरानो सिद्धान्त भनेको खिया लागेको फलाम हो, तर्साउन सक्छ छिनाल्न सक्दैन ।”

त्यति नै बेला, एउटा गरीब विद्यार्थीलाई पाँच हजार तिरेको बिल छैन भनेर धनीको समूहले लगाइरहेको सर्ट फुकाल् भनेर जबरजस्ती गर्न थाले । त्यो दृश्य हेर्दै एउटाले समूहमा भन्यो, “धनीले पाँच हजार तिरेर ब्रान्डेड किन्यो भन्दैमा गरीबले गुणस्तर कम भएको सस्तोवाला किन्न नपाउने भन्ने कहाँ लेख्या छ ?”

मामला भुसको आगो झैं दन्कन थालेपछि तेस्रो व्यक्तिले जुक्ति निकाल्यो । सही बिल देखाउनेले लाउन पाउने तर नदेखाउनेको सर्टको पिठ्यूँमा रातो धब्बा दलेर लाउन दिने । धनीहरूले सहमति जनाए, गरीब दबिए ।

एकदिन एउटा गरीब विद्यार्थीले पाँच हजारको बिल देखाउन सकेन र रातो धब्बा पनि लाउन मानेन । उसले आक्रमणकारीहरूसँग प्रतिकार गर्दै भन्यो, “तिमेरको र मेरो सर्ट उस्तै छ भन्दैमा म रातो धब्बा लाउनु ? के नापेको छ तिम्रो महँगो सर्टले ? कुनै विदेशी उत्पादनसँग नारिन सक्छ ? हामीसँगै जोरिनुपर्छ भने घमण्ड छोड ! होइन भने अबदेखि रातो धब्बा हाम्रोमा होइन तिमेर्कैमा लाउने गर !”