तालीको गडगडाहट भयो ।
उनी अझै जोसिए र बोल्दै गए, ‟अब गाउँ गाउँमा प्राविधिक शिक्षालय हुन्छन् । एक पालिका एक प्राविधिक शिक्षालय सरकारको नीति नै छ । हाम्रा युवाहरू सबै सीपयुक्त जनशक्तिमा रूपान्तरण हुन्छन् । अनि प्रविधिले देशमा फड्को मार्छ । देश समृद्ध बन्छ । ढुक्क हुनुहोस् तपाईं, हाम्रो पालामा नै यो सम्भव हुन्छ।”
‟वाह ! नेता त यस्तो पो हो । क्या भाषण छ । कस्तो दृष्टिकोण छ । देश समृद्ध बनाउने क्या दामी आइडिया ।” भिडको बीचमा खासखुस सुनियो।
‟कुनै नक्साङ्कन छैन । कुन क्षेत्रमा कस्तो जनशक्ति कति चाहिने हो ? त्यसको कुनै योजना छैन । तथ्याङ्क छैन । खालि लहडको भरमा शिक्षालय खोले पढ्ने विद्यार्थी नै नभएर बिजोग छ । पढाउने शिक्षकको स्थायित्व छैन । अझ भाषण छाँट्न पुगेको छैन हाम्रा नेताजीहरूलाई ।” भाषण सुनिरहेका भक्तिरामले सँगै बसेका कविरामसँग असन्तुष्टि पोखे ।
‟युवाहरू जम्मै विदेशिन लागे अनि कहाँबाट हुनु शिक्षालयमा विद्यार्थी ? बरु अब त एक पालिका एक वृद्धाश्रमको नीति पो ल्याउनु पर्छ ।” भविष्य द्रष्टा झैँ गरी ढुक्कसँग बोले कविराम ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।