“हेर, हेर जित्यो ! जित्यो ।”  ऊ चिच्याउँदै जुरुक्क उठ्यो ।

“यो केटाले त हैरानै पार्यो । राम्ररी सुत्न पनि दिँदैन । मध्य रातमा यसरी चिच्याउँछ । के भएको छ यसलाई ?”-छोराको गतिविधिले वाक्क परेकी बबिता भुटभुटिइन् ।

“के भयो बाबु ? के ले जित्यो भनेको ?”  बुवा बैकुण्ठले फकाउँदै सोधे ।

“रामेको गुरे गोरुले हर्केको झाले गोरुलाई जितेको सपना देखेँ बाबा ।” उसले सहज जवाफ फर्कायो ।

“हरे ! यो केटाको त ध्यानै गाउँमा छ । अमेरिका आएको यति समय भै सक्यो तर यसलाई अझै बानी परेन । अझै पनि ऐँसेलु, काफल, खन्यू, बेँडुला सम्झिरहन्छ । उनै रामे, हर्के, गोपालेकै सुर्ता छ । दिनभर टोलाएर बस्छ । खुलेर रमाउनै सक्दैन । जब राति हुन्छ, सपनामा बरबराएर हैरानै गर्छ । हैन के उपाय गर्ने हो ?” बबिताले पति सामु दुखेसो पोखिन् ।

“एउटै छोरो । यसकै भविष्य राम्रो होला भनेर त्यति कसला काटेर अमेरिका आइयो । यसको भने पारा यस्तो छ । कति डाक्टर देखाउँदा पनि हुँदैन त के गर्ने ?” निराश हुँदै बोले बैकुण्ठ ।

“अब दशैँ पनि आउनै लाग्यो । बरु यो दशैँमा नेपाल जाऊँ । बुबाआमासँग पनि भेटघाट हुन्छ । दशैँको टीका थापौँ, आशीर्वाद लिऊँ । तै बाबुलाई पनि केही सुधार देखिन्छ कि ?”- आशोन्मुख भाव व्यक्त गरिन् बबिताले ।