“आफ्नै ठाउँमा केही गर्छु भनेर मात्र नहुँदो रहेछ । उद्योग दर्ता प्रक्रिया कति झन्झटिलो रहेछ । दैनिक ४ ओटा कोठामा मा ओहोरदोहोर गर्दै दिन जान्छ थुक्क !”
मनमनै कुरा खेलाउँदै आएका जगन्नाथलाई बाबाले साबिक झैँ सोध्नुभयो, “आज पनि काम बनेन ?”

खै वडाको सिफारिसमा के ब्यहोरा मिलेन रे । जगन्नाथ दिक्क मान्दै बोल्यो ।

हैन के भाको हो कहिले के मिलेन रे सच्याएर लग्यो, कहिले  के पुगेन कहिले के ?  भन्छ । दुःख दिन कति जानेको हो । आज ठ्याक्कै १५ दिन भो यही एउटा काममा हिँडेको । म त कुरा बुझ्नै सक्दिनँ क्या  हो क्या हो ?

“ह्या ! यस्तो झन्झट भन्दा त बरू विदेशमै हानिनु पर्छ कि क्या हो ?” मनमनै सोच्छन् ।

“फाइल, वल्लो कोठाबाट पल्लो कोठा पुग्छ काम बन्दैन । हेर्दै नहेरी कागजात पुगेन भन्छ । अचम्म । अस्ति भन्या जति त बुझाएको हो नि फेरि के निहुँ झिकेर भएन भन्दिन्छ । के चाहिए हो कुन्नि यिनीहरूलाई ?” निराश भावमा बोल्यो जगन्नाथ ।

बाले भन्नुभयो, “सायद खाजा खोज्या होलान् । नत्र आजसम्म त पास हुनुपर्ने फाइल हो  त ।”

जगन्नाथ अनुहार बिगार्दै भन्छ, “म त मरी गए पनि एक पैसा दिन्न डाँकाहरूलाई । बरु काम नबने नबनोस् ।”

दिने बानीले बिग्रेका हुन् यिनीहरू । यिनै फटाहाहरूले त हो नि सबै बिगार्ने । पैसाविना त काम नै नछुने । एउटा मात्र हो र ? सबैलाई यही रोगले ग्रसित बनाएको छ । जनतालाई सास्ती दिन पनि कति जान्या हुन् । कति सजिलै भोलि आऊ भन्छन् डाँकाहरू ।

देश बिगार्ने यिनै घुस्याहा र अल्छीहरू नै हुन् ।

मानिस जति  आदर्शवादी भए पनि लोभले कहिल्यै छोड्दैनन् । सबै प्रणाली नै नीतिगत भ्रष्टाचारमा लिप्त भएपछि के लाग्छ र ?  दिन्न भन्दाभन्दै पनि दिनै पर्ने ।

भोलिपल्ट फाइलमा अलिकति खाजा खर्च हालिदिएँ । १५ दिन धाउँदा नबनेको काम एकै छिनमा भयो । लामो सास फेर्दै जगन्नाथ घर आयो ।

बाबाले सोध्नु भयो, “आज पनि काम बनेन ।”

जगन्नाथको जवाफ, “बन्यो, एकै छिनमा । खोज्या रैछन् न त्यही ।”

बुबाको अनुहारमा चमक देखिएको थियो । बुबा मुसुमुसु हाँसेर, पुलुक्क हेरेर  भित्र पस्नु भयो ।

जगन्नाथ मनमनै भन्छन्, “हामीले नै हो यिनीहरूलाई बिगार्ने । दोष कसलाई दिने र खै । सबै ठाउँ भ्रष्ट भएपछि । नदिएसम्म काम बन्दैन ।”

उनी मन बुझाउँदै भन्छन्, ” जे भए पनि काम त बन्यो नि ।”