“भगवान् देखाइदिनुस् !” युवकले सन्तलाई चुनौती दियो ।

सन्तले धर्ती छुँदै भने, “यो माटो छ, हैन ?”

“छ ।”

सन्तले आकाशतिर हेरे, “त्यो नीलो गगन ?”

“छ ।”

सन्तले हल्का सास फेरे, “हावा महसूस गर्‍यौ ?”

युवक मौन भए ।

सन्तले जलसँग खेल्दै भने, “यो पानी ?”

युवक टोलायो ।

सन्तले दीप बाल्दै अन्तिम प्रश्न गरे, “र, यो आगो ?”

युवकले टाउको हल्लायो ।

सन्त मुस्कुराए, “यी नै त भगवान् हुन् । अब तँ भगवान् नभएको ठाउँ देखाइदिन सक्छस् ?”

युवकको आँखा झलझलाए । उसले विनम्रतासाथ भन्यो, “अब भगवान् खोज्न कतै जानु पर्दैन ।”