“ए, सिता दिदी ! तिमीले देख्यौ, भर्खरै शौचालय को गएको थियो ?” रमिला कार्यालय भवन नै हल्लिने गरी कराइन् ।

“किन र मेडम ? म हाकिम सापलाई तातो पानी दिन गएकी थिएँ । मैले विचार नै गरिनँ ।”

“वाशरूम, ट्वाइलेट प्रयोग गर्न नजान्ने पनि कसरी लोकसेवा पास गरेर जागिरे हुन आएछन्, कुन्नि ?”

त्यसै त ना. सु. रमिलाको आवाज ठूलो, त्यसमा झन् कसले के उपद्रो गरेछ !

‘तत्काल सबैलाई बैठक कक्षमा भेला हुन भन्नुस् दिदी,’ भन्दै कार्यालय प्रमुखको कोठामा छिरिन् । कार्यालय प्रमुखले उनको सबै कुरा सुने । कुरो सामान्य थियो । तर उनलाई लाग्यो, ‘यो आजसम्म सामान्य मानिएको विषय वास्तवमा सामान्य हुँदै होइन । यो अति संवेदनशील विषय हो ।’ सबै बैठक कक्षमा जान उठे । रमिला पछि पछि लागिन् ।

“उनले सबैलाई सम्बोधन गर्दै भने, आज रमिला जी शौचालय जान खोज्दा, कुनै पुरुष कर्मचारीबाट कमोडको सीट लिड नहटाई वाउल बाहिर नै पिसाब गरेछन् । पानी हालेर सफा पनि गरेनछन् । यो हाम्रो लागि अति लज्जाको विषय हो । जो जसले गरेको भए पनि शोभनीय भएन ।”

“यो शोभनीय/अशोभनिय भन्दा पनि महिलाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने निकृष्ट कार्य हो । पुरुषले उभिएर पिसाब गरेको फोहर प्यान सीटमा महिलाले बसेर शौच गर्नुपर्छ । यो महिलाप्रतिको हेपाहा प्रवृत्ति हो ।”

कार्यालय प्रमुखले बैठक टुङ्ग्याउँदै भने, “सीता दिदी ! गएर त्यसमा पानी हालिदेऊ र अबदेखि कार्यालयमा पुरुष र महिला कर्मचारीले प्रयोग गर्ने शौचालय अलग अलग हुने व्यवस्था मिलाइनेछ ।”

पछाडिबाट अर्की महिला कर्मचारी सुस्तरी बोल्दै थिइन्, “फोहर गर्ने पुरुष सफा गर्नुपर्ने चाहिँ उही महिलाले !”

धनगढी कैलाली