
आफ्नो छोराछोरीले गोराका बच्चाहरुले जस्तै फर्रर अङ्ग्रेजी बोलेको देख्दा अनि सुन्दा विशाललाइै कम्ती त गर्वको महसुस हुँदैनथ्यो । आफू नेपालबाट बेलायतमा बसाइ सरेर गएदेखि नै आफ्नो अङ्ग्रेजी त्यत्ति राम्रो नभएकै कारण गतिलो काम र पद पाउन नसकेको महसुस गर्दै विशालले भाषाको कारण आफ्नो छोराछोरीले आफूले जस्तो दुःख भोग्नु नपरोस् भन्ने सोचेर उसले छोराछोरीलाई बालक कालदेखि नै अङ्ग्रेजी भाषा मात्र सिकायो । आफूले मात्र होइन, आफ्नो श्रीमती तथा घरमा आउने नेपाली साथी नातेदारहरुलाई पनि उसले आफ्नो छोराछोरीसँग नेपाली बोल्न र सिकाउन पूर्णतया बन्देज लगाएको थियो । यहाँसम्म कि उसले आफ्नो छोराछोरीको नाम पनि अङ्ग्रेजी नै राखिदिएको थियो ताकि आफ्नो नामको अर्थ खोज्दै जाँदा उनीहरुले पछि गएर नेपाली भाषा सिक्न नथालून् भनेर ।
आफ्ना सबै साथीभाइ नातेदारहरुसँग पनि ऊ जहिल्यै बडा गर्वका साथ भन्ने गर्थ्याे -“मेरा छोराछोरीलाई त नेपालीको न पनि आउँदैन, आउँछ त केवल अङ्ग्रेजी मात्रै । यो जमानामा नेपाली सिकाएर के काम ? हैन त ?”
प्रायजसो सन्तानहरुलाई मातृभाषा सिकाउनु पर्छ या पर्दैन भन्ने बहस चले ऊ नेपाली भाषाको विपक्षमा आफ्नो तर्कहरु दिन अग्रसर भइहाल्थ्यो -“अहिलेको जमानामा नेपाली भाषा नसिकेर नजानेर केही पनि घाटा हुँदैन तर अङ्ग्रेजीमा त प्रखर हुनै पर्दछ ।”
विशालकै सपनाअनुसार उनका छोराछोरीले नेपाली भाषा सिक्ने मौका नै पाएनन्, मातृभाषाको महत्व पनि बुझेनन्, न त सिक्ने इच्छा नै लाग्यो उनीहरुलाई ।
उनका छोराछोरी पूर्णतया अङ्ग्रेजी वातावरणमै हुर्के, बढे । उनीहरु ठूलो भएर बेलायतमै राम्रै पद र ओहोदामा काम गर्न थाले । विशालको भने उमेर ढल्किँदै गयो, उमेर ६० वर्षबाट पनि उकालो लाग्न थाल्यो । साठी वर्ष नलाग्दै विशालको स्मरण शक्तिमा विस्तारै ह्रास हुँदै जान थालेको थियो । सुरुसुरुमा छोटो छोटो अवधिको स्मरण शक्ति गुम्ने समस्या देखा परेकोमा ऊ ६५ वर्ष पुग्दा त उसलाई डिमेन्सिया भन्ने रोग लागिसकेको थियो । डिमेन्सिया रोगले गर्दा उसले जीवनको पछिल्लो समयका घटनाहरु र पछि सिकेका कुराहरु सबै भुल्दै जान थाल्यो ।
अन्ततः विशालले पछि सिकेका सबै सीप लगायत अङ्ग्रेजी भाषा पनि पूरै बिर्सियो । उसले नेपाली भाषामा मात्र कुरा गर्न सक्ने भयो । उसले अङ्ग्रेजी भाषा पनि बुझ्न छोड्यो । तथापि उसको छोराछोरीले नेपाली न त बुझ्दथे न त नेपाली बोल्नै जान्दथे । विशालले जीवनमा कदापि सोचेकै थिएनन् कि नेपाली भाषा पनि सन्तानहरुलाई कुनै दिन काम आउला भनेर तर अब त धेरै ढिला भइसकेको थियो ।
नेपाली नसिकेका नजानेका हुँदा विशालका छोराछोरीहरु आफ्नो बुबासँग पनि कुरा गर्न असमर्थ थिए । न त बुबाले बोलेकै केही बुझ्दथे । अन्ततः उनीहरुले आफ्नो बुबासँग कुरा गर्न पनि दोभाषे (अनुवादक) राख्नु पर्ने भयो । डिमेन्सिया रोगको कारण विशाललाई त छोराछोरीलाई नेपाली नसिकाएकोमा पछुतो मान्ने पनि क्षमता भएन परन्तु उनका छोराछोरी भने आफूले नेपाली नसिकेकोमा ग्लानी गर्दै अहिले नेपाली भाषा सिक्न थालेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

