भित्तामा टाँसेको पृथ्वीनारायणको तस्वीर अचानक भुइँमा खस्यो । तस्वीर खस्दा म झसङ्ग भएँ ।

गएको राति सपनामा उनीसँग भेट भएको थियो ।

‘तपाईंले किन तीनवटा बिहे गर्नु भो ?’ सोध्न मन थियो, प्रसङ्ग मिलेन ।

“एकीकरणको बहानामा त्यो वेलाका ससाना र कमजोर राज्यलाई किन हडप्नु भो ? त्यसो गर्दा उनीहरूको सार्वभौमसत्ता हनन भएन र ?” मौकामा मैले मनमा गुम्सेको प्रश्न सोधेको थिएँ ।

“मैले सबको भलो चिताई त्यो काम गर्या हो । मैले त्यसो नगर्न्या हो भन्या पनि अर्कै शतुरले उनीहरूकन कब्जा गर्न्याथ्यो ।”

उनको जवाफ चित्त नबुझेर मैले अनेक प्रतिप्रश्न गरें ।

उनी रीसले मसँग झर्किए । बेस्सरी मुर्मुरिए । मलाई तथानाम गाली गरे ।

“साना मुख बडा बोली गर्न्या होइन । बैठाउन पर्ला ….” उनको अनुहार रातो भएको थियो ।

अनि अहिले उनको तस्वीर भित्ताबाट खस्नु के संयोग मात्रै हो ?