“अझै आँखा देख्नु भएन बज्यै ?” शरीरमा पानी परेपछि दिवसले भन्यो । बज्यैले आशीर्वाद भन्दै टाउको मुसारिदिनुभयो । एकाबिहानै चिसो हातले छोइदिँदा रिसायो; “वाहियात, जागा मान्छेलाई पानी छ्याप्ने ?”

“साना मान्छेले ठुलासँग गनगन गर्दैनन् ।” चस्मा मिलाउँदै बज्यैको वाक्य फुट्यो । दिवसले शास्त्रमा देखाउन चुनौती दियो ।
ठुलाको ज्यादती सहन नसकिने भन्यो ।   बज्यैको दिमाग बिग्रेको कुरा थप्यो ।

“हामीले हाम्रो संस्कृतिको सम्मान गर्नुपर्छ ।” उहाँले विशेष नम्रता जाहेर गर्नुभयो । हेर्दाहेर्दै  घर आँगनमा पानी छताछुल्ल भयो । तिर्खाएका बोटबिरुवाले पानी पिउन भेटे । आमा परिकार  पकाउन व्यस्त हुनुहुन्थ्यो ।

“दुनियाँलाई पानी छ्यापेर अघाउनुभएन बाजे ?” गाउँघर डुलेर फर्केका बाजेलाई सोधियो । बुढाखाडाले आशीर्वाद दिनुपर्ने बताउनुभयो बाजेले । उहाँले बज्यैका थाप्लोमा हात राख्नुभयो । पर्वलाई सबैले सम्मान गर्नुपर्छ भन्नुभयो ।

दिवसको अबुझपनलाई बुझाउन बज्यैले सम्झाउनुभयो; “सबै कुरा शास्त्रमा आँट्ने ठान्नुहुन्न । व्यवहारिक लाभ हेरे पर्याप्त हुन्छ ।” वैज्ञानिक चस्माले हेर्न भन्नुभयो बाजेले ।

जुडशीतल बुझेपछि अनुहार उज्यालियो दिवसको ।