“सरकारले दश जोड दुई अध्ययनको लागि विदेश जान निरुत्साहित गर्ने भएको छ ।”

“उच्च शिक्षा अध्ययनको नाममा वैदेशिक रोजगारीमा जाने युवा/युवतीको संख्या हिजोभन्दा आज बढ्दैछ ।”

“चार किलो चरेस सहित दुई युवती समातिए ।”

सरदार बा बाहिर बसेर स्थानीय अखबार पढिरहेका थिए । एकछिन टोलाए । देश बाहिर रहेका आफ्ना छोरा-बुहारी / घरका नातिनातिना सम्झे । धेरैबेर सम्झन पाएनन् । सर्दानी आमाले चिया राखेर गइन् । उनको ध्यान चियाले तान्यो । चिया सुरुप्प ताने । चिया खल्लो थियो । बाले ख्वाक्क खोके ।

सर्दानी आमा भान्साबाटै कराइन्, “सुगर फ्री / स्वीटनर सकिएको छ है ।”

सरदार बा केही नबोली निख्लो चिया पिउन थाले । ‘छोराले पैसा अड्कलेर पठाउँछ । तपाईंको पेन्सन/भत्ता के गर्नुभयो, सोध्छ ! कहाँबाट ल्याओस् यी बुढीले ।’

नातिनातिना स्कूल जान घरभित्रबाट निस्किए । स्कूल बसमा नचढुन्जेल नातिनीको अंग्रेजी स्कूल ड्रेस हेरे । किताबको भारीले निहुरिएको नातिनातिनाको काँध-टाउको हेरे ।

र, आकाशमा आँखा पुर्‍याएर आफैसित सोधे, ‘यो एक भारी विद्यामा स्वदेशमै गरिखाने ज्ञान र सीप हुने भएको भए…?’

धनगढी, कैलाली