“बूढा हिजो राति बितेछन् ।”  एक छिमेकीले भन्यो ।

“ए गएछन् !” अर्को छिमेकीले प्रतिक्रिया दियो ।

बिहानै स्वर्गीय बूढाको घरबाहिर दस पन्ध्र जना छिमेकीहरू भेला भए । कोही मोबाइलमा कुरा गर्दै  व्यस्तता बोध गराउँदै थिए । कोही सेयर बजारको विश्लेषण गर्दै थिए । कोही चाहिँ सरकारको आलोचनामा गाला बजाइरहेका थिए ।

घरभित्र रुवाबासी हुँदै थियो । घरबाहिर छिमेकीको अट्टहास । एक दुई घण्टा अन्यमनस्कतामा बिते । त्यसपछि दिन बाक्लिँदै गयो र छिमेकी पातलिँदै । कसैलाई कार्यालय जान हतार भयो । कसैको पसल खोल्ने बेला भयो । कसैलाई के को हतारो, कसैलाई के को चटारो । लास उठेन ।

अपराह्नतिर स्वर्गीय बूढाको गाउँबाट एउटा थोत्रो जिप आयो जसबाट दस बार जना बुढाखाडा मान्छे ओर्ले । तिनीहरूले सबै चाँजोपाँजो मिलाए । केही समयपछि लास उठ्यो । शङ्ख ध्वनिसँगै लासलाई घाटतिर लगियो ।

पूरै घटनालाई राम्ररी नियालेको एक छिमेकीले बेलुका आफ्नी श्रीमतीलाई भन्यो, “अचेल गाउँ खाली छन् भन्छन् तर वास्तवमा रित्तो त सहर रहेछ ।”