एउटा भोकाएको काग शहरको एक मध्यम परिवारको घरको छानामा आएर करायो ।

त्यसैबेला त्यस घरकी स्त्री ल‍ोग्नेलाई कराउँदै थिइन्, “कुनै इलम सिलम छैन । खान मात्रै माग्ने त हो नि ! गाउँचाहारा !”

रक्सिया लोग्ने रिसले जंगिए, “तँ नै जागिर दे न त ! बडो कराउँदी र छे ! खाना मागो कि जहिल्यै झर्किहाल्छे, अलच्छिना !”

श्रीमतिले पनि तुरुन्तै कागतिर हेर्दै लोग्नेतिरको रिस प‍ोखिन्, “कति कराउँछस् ए हुतिहारा ? भाग्छस कि दिऊँ दाउराले ?”

कागको सातो गयो । ऊ “कागकाग” भन्नुको सट्टा अत्तालिएर “भागभाग” भन्दै सीमापारि देशतिर उडेर गयो ।