आज फेरि शिक्षक पदका लागि विज्ञापान भएको थियो । यसअघि छ पटक वैकल्पिक सूचीमा अटाइसकेको म यो पटक त कसो नहोला भन्ने सोच्दै म आवेदन दिन विद्यालयमा पुगें । केही दिनपछि परीक्षाको मिति पनि तोकियो ।

करारमै भए नि जागिर खाने धोको थियो । परीक्षाको दिन सबेरै तयार भएर केन्द्रमा जान लागेकै बेला साथीको फोन आयो, “ओइ के छ खबर ?”

“ठिकठाक छ, तिम्रो के छ नि ?” मैले भनें ।

“ठिकै छ, आज परीक्षा छ होइन ?”

“हो त, जान लागेको म” सुनाएँ ।

“अँ, तर…तिमी परीक्षा दिन नजाँदा नि हुन्छ ।” उसले अन्कनाउँदै भन्यो ।

म अचम्ममा पर्दै सोधें, “किन ? के भयो र ?”

“अर्कै साथीको हुने कुरा सुनें,” कुरा चपाउँदै भनेको थियो उसले ।

“के भनेको तिमीले ? परीक्षा नदिईकन यस्तो हुन्छ र ?” छक्क पर्दै भनें ।

“के गर्ने यार, यस्तै हो आजकाल ।”

मैले फेरि सोधें, “अनि कसको हुने भयो रे त ?”

“त्यही क्या …, अरूसँग कुरा नगर है ?” साथीले मलाई सुनायो ।

“म के गरूँ” उसैलाई सोधें ।

“अब तिम्रै विचार जे गरे नि ।”

मैले परीक्षा दिएँ । फेरि पनि म एक नम्बर वैकल्पिकमा परें । बिहान साथीले भनेकै मान्छे सफल भयो । म छक्क परें, यस्तो पनि त हुँदो रहेछ !

सफल हुने मान्छे अरू कोही नभएर स्कूल पढ्दा देखिको साथी रहेछ । विद्यार्थी जीवनमा ऊ फटाहा र लद्दु थियो भने म मेहनती थिएँ । तर ऊ नेताको आफन्त रहेछ । त्यसपछि मैले अबदेखि करारको जागिर नखाने अठोट गरें ।