एकाबिहानै स्याललाई सिंहको एउटा सन्देश आयो, “तिमी मेरा छेउमा आएर बस्यौ भने कसैसँग डराउनु पर्दैन । आऊ म तिमीलाई जतन गरेर राख्छु ।”

स्यालले भन्यो, “महाराज म कसरी राजाको छेउमा बस्न सक्छु, म त्यति ठुलो दुस्साहस गर्न सक्तिन ।”

स्याललाई ठुलो द्विविधा भयो, जाऊँ भने सिंहले एकै गाँस पारिदिन्छ, नजाऊँ भने राजाको आदेश अवज्ञा गर्दा भोलि कुनै आपत् पर्ने हो कि भनी उसलाई छटपटी भइरह्यो । त्यसैबिच एउटा खरायो उसका अगाडि आइपुग्यो ।

खरायोले भन्यो, “स्याल महोदय मलाई एउटा कुकुरले लखेटिरहेको छ, तपाईंले मलाई कतै लुकाउनु पर्‍यो ।”

स्यालले खरायोलाई एउटा दुलोभित्र लग्यो र भन्यो, हामी दुवै यतै लुकौँ, हामीलाई नदेखेपछि कुकुर फर्कने छ । त्यसपछि हामी त्यहाँबाट निस्काैँला र रमाइलो गरौँला ।

दुलोभित्र पसेपछि स्यालले खरायो मार्‍यो र त्यसको रगत, मासु खायो । त्यसपछि मुख मिठ्याउँदै ऊ दुलोबाहिर निस्क्यो ।

दुलोबाहिर निकैबेरदेखि एउटा कुकुर स्याललाई ढुकेर बसेको थियो । दुलोबाहिर निस्कने बित्तिकै कुकुरले झम्टेर त्यस स्यालको घाँटी निमोठ्यो । स्याल थररर काम्यो र एकैछिनमा त्यसले आफ्नो प्राण छोड्यो ।

यसरी कतिपय शत्रुहरूले प्रतिकुल परिस्थितिमा स्वार्थवश मित्र जस्तै व्यवहार गर्छन् ।