
ब्रह्माण्डको बारेमा सोचविचार गरी जैविक सङ्कट मोचनार्थ समुद्री किनारमा जलथल र वायुमण्डलमा भएका जीवजनावरहरूको छलफल सुरु भयो । छलफलको विषय जैविक अस्तित्व कसरी संरक्षण गर्ने भन्ने थियो । प्राणीमध्येको सर्वश्रेष्ठ बौद्धिक प्राणी मानवलाई पनि छलफलमा निमन्त्रणा थियो ।
निमन्त्रणा मात्र नभएर ऊ त नभई नहुने नै भयो। हरेक प्राणीका फरक र विशिष्ट विशेषताबाट प्रभाव ग्रहण गरेको मानवले चरा उडेको देखेर प्लेनको आविष्कार गर्यो । माछा पौडेको देखेर पानी जहाज बनायो। आकाशबाट उल्का झरेको देखेर रकेट बनाएको थियो । चितुवा दौडेको देखी मोटर बनायो । यसरी जे जे देख्यो त्यही गराउने अद्भुत र सर्वश्रेष्ठ प्राणी मानव …जिज्ञासु र कहिल्यै तृप्त नहुने मानव।
विकास र विनाशलाई समानान्तर लिएको उसले समानान्तरको रेखा हल्लाउँदा असन्तुलन भएको निचोड निस्कियो । आकाशमा हवाईजहाजको चाप, वायु मण्डलमा तीव्र ताप, जलप्रदूषण, जमिनप्रदूषण, चाप, ताप र अभावले व्याकुल हुँदा पृथ्वी बस्न योग्य नभएको निष्कर्ष निस्कियो ।
तत्काल सुधार गर्ने र सुधार नभए विकल्पमा अन्य ग्रहहरू खोज्ने निर्णय भयो । छलफलमा सबै जीवजनावर र प्राणीले अस्तित्व सङ्कटको कारक मानव भएको निष्कर्ष निकाल्दै समाधान पनि मानवले खोज्नु पर्ने अडान लिए । प्रगतिप्रति पश्चात्ताप गर्दै मानव समाधान गर्न तम्सियो ।
सोधखोज र अनुसन्धान गर्दा सुधारको डोरी तान्दातान्दै समस्या, समाधानका लागि समय निकै ढिला भएछ ।
ब्रह्माण्डको दियो यति कोल्टिसकेछ जसलाई जति सोझ्याउन खोज्यो उति नै ढलपल ढलपल !…दियो जतिसुकै सोझ्याएर वर्तन थप्छु भने पनि सबैका सामु समाधानमा निस्किएको मान्छेका हात नै लल्याकलुलुक भए। अँजुलीमा दियो उत्तानो पर्न सकेन। कोल्टियो बराबरभन्दा बढी । पाखुरा गले।
कोल्टिने क्रम अझ जाँगरिलो ….हुँदै गयो …अन्तत: झ्याप्प … निभ्यो … संसार… मान्छे… समस्या.. समाधान… शून्य…शून्य….।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
