
ऊ नारीवादी एनजिओको प्रमुख वक्ता थियो । एउटा महिला अधिकार सम्बन्धि गोष्ठीमा आफ्नो दमदार विचार राख्दै भन्यो-
“नारी पुरुष बराबर हुन् । पुरुषहरूको हरेक प्रगतिमा एउटा नारीको अहम् भूमिका हुन्छ । जहाँ नारीको सम्मान हुँदैन त्यो घर नरक समान हुन्छ।”
नारी शक्ति र अधिकारको विचार गोष्ठी समापन पछि सहभागी मित्रहरूको साथ एउटा रेस्टुरेन्ट भित्र पस्यो । सधैँ पिउनेभन्दा अलि धेरै पिएर ऊ लरखराउँदै घरमा पुग्यो र ढोका ढकढक्याउन थाल्यो ।
घरभित्र श्रीमती उसको प्रतीक्षामा ब्यग्र थिइन् । दौडेर ढोकाको छेस्किनी खोल्दै श्रीमानलाई हातले समातेर सोफामा आरामसँग बसालिन् ।
श्रीमानको कोट उतार्दै सम्झाउन थालिन्, “यसरी धेरै पिउनु हुँदैन हजुर । आफ्नो स्वास्थ्य र समाजको पनि ख्याल त गर्नुस् न ।”
श्रीमान् बरबराउन थाल्यो, “तँ जस्तो मूर्खले मलाई के सम्झाउने ? तँलाई के थाहा यो समाजमा प्रभाव र पहिचान बनाउन के के पिउनु पर्छ, के के बोल्नुपर्छ भनेर !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

