किरियापुत्री

“आज के भयो ? न्यूज हेर्न पाएको छैन यार । ” ज्याकले भन्यो ।

“ कहिलेबाट चासो पर्यो समाचारको यसलाई ?” उदितले सोध्यो ।

“ल बबाल रमाइलो हुन्छ यार कहिले त । टेन्सन्ले ह्याङ्ग भएको बेला समाचार हेर्नु पर्छ कम्ती हाँसो लाग्दैन ।” ज्याकले भन्यो । सबैको आँखा मोबाइलमा छन् तर गफ चलेकै छ ।

“आज खास के छ र यसले अघिदेखी न्यूज/ न्यूज भनि रा छ ? ” गोबिन्दले सोध्यो ।

पल्लो कुनामा एक्लै बसेर कफी पिउँदै गरेको तेन्जिङले मोबाइलबाट समाचार हेर्दै भन्यो,  “उप-राष्ट्रपतिको चुनाव हो ,भइसक्यो ।”

उदितलाई पनि चासो लाग्यो, “कसले कसलाई भोट दियो ?”

“पार्टीले जसलाई भन्यो त्यसलाई दियो नि अब ।” ज्याक जान्ने पल्टियो ।

गोबिन्दले “पार्टीले भनेको मान्छेलाई दिनै पर्ने हो भने पोको परेर पार्टीलाई पठाए भयो नि यस्तो के नाटक गर्या होला ।” भन्दै सामाजिक सञ्जालको फोटो देखायो, जसमा यौटा किरियापुत्री कोराको पहिरनमा हवाइजहाज चढ्दै थिए ।

===

सालिक

“ सिट माले ।” बसमा उक्लँदै एकजना आमाले भन्नुभयो र फेरि बसबाट ओर्लन लाग्नु भयो ।

ढोकाको नजिक सिटमा बसेको म उठेँ र भनेँ, “तल नजानु एउटा सिट आले ।” आमा बस्नु भयो ।

“मेरो ढाड दुख्छ बाबु त्यसैले तिमीलाई उठाएँ ।” आमाले भन्नु भयो ।

“आमा कता जान लाग्नु भएको होला ?” मैले उभिएर आमासँग कुरा गर्न थालेँ ।

“खोइ कताको चोकमा हाम्रो मान्छेको सालिक हटाउन खोजेका छन्, सबै जम्मा हुनु पर्यो भन्दै थिए ।” आमाको उत्तर थियो ।

आमाको सिटको पछाडि अर्को समुदायका दुई जना महिला थिए । चिन्नु न जान्नु घचेटी माग्नु भने जस्तै हाम्रो कुरा सुनेर कराए “पहिला जसको सालिक राखेको हो त्यसैको राख्नु पर्दछ नि । पछि आएर राख्न पाइन्छ ? हामीहरु पनि त्यतै जान लागेको ।”

सायद उनीहरुलाई पनि त्यही ठाउँमा बोलाइएको हुनु पर्दछ । यसरी यौटै चोकमा दुई थरी समुदायको मानिस जम्मा गरेर भिडाउने अगुवाहरु देखेर दिक्क लाग्यो ।

“इतिहासको महत्वपूर्ण मान्छेको बारेमा सानो सानो नानीहरुलाई पढाउने पो हो त बाटोको बिचमा शालिक राखेर बाटो साघुँरो मात्र हुन्छ ।” अघि देखि हाम्रो कुरा सुनेका चालकले भने ।