
क्रान्ति सम्बन्धी एउटा किताब पढिसकेर बजारतिर जाँदै गर्दा उसलाई पनि लाग्यो उ परिवर्तन ल्याउन सक्छ। सोच्यो, अब संसार बदल्नु पर्छ।
अलि पर पुगेर फेरि सोच्यो – “हैन, संसार त अलि नसकिएला, बरु पहिले देश बदल्नु ठिक होला।”
अझै पर पुग्दा सम्म देश पनि सकिन्न होला जस्तो लाग्यो। सोच्यो – “सुरुमा समाज बदल्छु, त्यसपछि देश।”
बजारको छेउमा रहेको भट्टीसम्म पुग्दा समाज बदल्न पनि समय लाग्ला, पहिले आफै बदलिनु पर्यो भनेर सोच्यो। टक्क अडिएर यताउता हेर्यो अनि भट्टीभित्र छिर्यो र फेरि सोच्यो – “आफै बदलिन पनि त दुई चार दिन त लाग्ला।”
काउन्टर नजिकै गएर उसले साहुनीलाई “दिदी, आज विदेशी चाख्नु पर्यो, कति यो लोकल खानु?” भन्दै विदेशी क्वाटर माग्यो।
गिलास र क्वाटर लिएर टेबलसम्म पुगेर बस्दासम्म उसले सोचिसकेको थियो, “आज रक्सी बदलेँ, भोलि म बदलिन्छु। त्यसपछि समाज, देश अनि संसार।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

