“लौ न नि भयानक दुर्घटना..!” मानिसहरू हतारहतार जेब्राक्रसमा भेला भए। एक गर्भवती महिला आइचरको ठक्करले रक्तमुछेल अवस्थामा थिइन् ।

ट्राफिकले सवारी चालक र सवारी साधनलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो। घाइते जुना सुवेदीलाई नजिकैको अस्पताल पुर्याइएको थियो।

विष्णुप्रसाद आचार्य “अतृप्त”

धेरै एन्टिबायोटिक औषधि सेवन गर्नुपरेको कारण उपचारकै क्रममा उनको गर्भ तुहियो। डाक्टरसँगको परामर्श र ओखतीमूलोपश्चात लामो समयपछि गर्भ बसेको थियो।  त्यो गर्भ पनि खेर गएकोमा उनी विक्षिप्त भइन् ।

दुर्घटनामा परी जुनाको दाहिने हातको हड्डी फुटेको थियो । दाहिने गोडा चक्कामुनि पिसिएर क्षतविक्षत भएको थियो। वैशाखीको भरमा सामान्य हिँडडुल गर्न पनि कम्तीमा आठ- नौ महिना लाग्ने भनी डाक्टरहरू बताइरहेका थिए।

” खुरुक्क मेरो गाडी छुटाइ दिनुपर्यो। कमाइ खाने साधन त्यसरी चौकीमा उभ्याइराखेर हुन्छ र ! आफैं गाडीमा ठोक्किन आउने अनि उल्टै पेटको बच्चाको क्षतिपूर्ति र घाइतेको उपचार खर्च माग्ने ?”चालकले जुना र उनको आफन्तलाई धम्क्याइरहेको थियो।

जुना सकी नसकी अस्पतालको बेडबाट प्रतिवाद गरिरहेकी थिइन्- ” तैंले एउटा र आधा ज्यान मारेको छस् । मेरो औषधि उपचारमा लाखौं रकम खर्च भइसक्यो ! तेरो कारण मुखैमा आएको  लोकसेवाको परीक्षा हाप्न परिरहेको छ मैले। जेब्राक्रस त पैदल यात्रु को हो नि ! त्यही ठाउँमा दुर्घटना गराएर अझै ठूलो कुरो गर्छस्, अपराधी ।”

चालक आफूमात्र फोन गर्दैनथ्यो, आवारा गुन्डा केटाहरूलाई हस्पिटलमै पठाएर बिरामी र उसको आफन्तलाई  गाडी छुटाउन र मिलापत्र गर्न मानसिक दबाब दिँदै थियो।

जुनाको लोग्ने सुदूरमा कतै सानो नोकरी गर्थे। भन्नासाथ छुट्टी मिलिरहेको थिएन। उनी एक्लै काठमाडौँमा बस्थिन् ।  निजामतीमा जागिर गर्ने धुनमा उनी काठमाडौँ बसेर परीक्षाको तयारी गर्दै थिइन् ।

सबैतिरबाट विश्वास टुटेपनि  प्रहरी संगठनप्रति भने उनको ठूलो भरोसा थियो।  उनलाई ‘स्वयम्भूका दुई आँखाले न्याय अन्याय छुट्याई हेर्छ’ भन्ने पूर्ण  विश्वास थियो।

“पच्चीस हजारमा कुरा मिलाउनु पर्यो ! नत्र … मन्त्रीज्यूको फोन आएपछि नाकको चालले गाडी छाडिदिनु पर्ला !” सन्ड मुसुन्डहरूले प्रहरी अधिकारी समक्ष यस्तो दबाबमूलक प्रस्ताव राख्दै गरेको उनले अस्पतालबाटै चाल पाएकी थिइन् ।

जुना अस्पतालको शैय्याबाट बाहिरतिर हेर्दै थिइन् ।  प्रहरीको अघिअघि केही दलबलसहित चालक अस्पताल प्रवेश गर्दै थियो। प्रहरीको हातमा एउटा फाइल पनि थियो।

त्यति नै बेला अस्पताल नजिकै रहेको अदालत परिसरमा  अहिलेसम्म आँखाको पट्टि नखोलेका न्यायमूर्तिले धमाधम आँखाको पट्टि हटाउँदै गरेको जस्तो आभास उनलाई  मिल्यो। उनका आँखा तिर्मिराए। न्याय तिलमिलाएको र विधिको शासनले अट्टाहास गरेको  नमीठो अनुभूति उनलाई भयो।