खुला सडकसम्म मगमग वासना आइरहेछ, पकाइएका परिकारहरूको । उसको आँखा तानिन्छ रेस्टुराँभित्र । भोक लागिरहेको छ, उसलाई नलाग्नु पनि किन ? दुई दिनदेखि केही खान पाएको छैन उसले । घरबाट पैसा पठाएको छैन । अफिसबाट तलब दिइएको छैन । केही दिनअगाडि चारजना साथीसँग यही रेस्टुराँमा उसले पन्ध्र सयभन्दा बढी रुपियाँ सिद्ध्याएको थियो । दश रुपैयाँ पर्ने चुरोट एक दुई सर्को तानेर फालेको थियो ।
अहिले ऊ हिंडिरहेछ भोकै । उसको पहिरनमा भोक थिएन तर मुहारभरि भोक उजेलिएको चाहिँ छँदै थियो ।
यसै बेला अर्को तलतल उम्लेर आयो चुरोटको तर उसको खल्ती खाली थियो । उसले गिद्धझैँ चारैतिर आँखा गडायो ।
केही ठुटाहरू छरिएका थिए । त्यसलाई उठाउने साहस उसले गर्न सकेन । किनभने बाटामा चहलपहल कमै थियो, यौटा बस स्टप पनि बिरानो भएर उभिएको थियो जहाँ सिमेन्ट बस्ने ठाउँ बनाएको थियो । ऊ त्यही बस्न पुग्यो । तल एक दुई सर्को तानेर फालिएको चुरोटको ठुटो थियो ।
उसले यताउति हेर्यो । जुत्तामा केही लागेको जस्तो गरेर एक टुक्रा कागज उठायो । जुत्ता पुछेको जस्तै गरेर पुछ्यो, ठुटो उठायो । खल्तीमा रहेको लाइटर निकालेर चुरोट सल्कायो अनि समर विजयीझैँ भाव निकालेर खिस्स हाँसेर अगाडि बढ्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









