दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको हालै बसेको कार्यसमितिको बैठकले नेपाली भाषा, साहित्य र कलाका क्षेत्रमा योगदान गर्ने विशिष्ट एवम् प्रतिभाशाली स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानले नेपाली वाङ्मयका क्षेत्रमा लामो समयदेखि साधनारत विजय चालिसे (काठमाडौँ) र विजय सागर (भैरहवा) लाई दायित्व वाङ्मय विशिष्ट सम्मानले सम्मानित गर्ने निर्णय गरेको छ।

 

यसैगरी दायित्व वाङ्मय सम्मानबाट साहित्यकारद्वय युवराज मैनाली (काठमाडौं) र शङ्कर शाह (काठमाडौं), हरिकला-गुणाकर दायित्व रचना पुरस्कारबाट अनुराधा ढकाल (चितवन), दायित्व मुरलीदेवी-गुरुदत्त काफ्ले स्मृति पुरस्कारबाट “हाम्रो बाल संरक्षण धरोहर नेपाल”(काठमाडौँ) र दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारबाट सम्पदा मल्ल (काठमाडौँ) लाई सम्मानित तथा पुरस्कृत गर्ने निर्णय प्रतिष्ठानले गरेको छ।

 

प्रतिष्ठानको २३औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा यी सम्मान र पुरस्कार अर्पण गरिने छन्।

 

सो समारोहमा दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार रामप्रसाद पन्तको नियात्रोपन्यास “मेची मेरो महाकाली मेरो” र ‘दायित्व’ द्वैमासिक साहित्यिक पत्रिकाको १३५औँ अङ्कको पनि विमोचन हुने जारी विज्ञप्तिमा जनाइएको छ।