सानो उमेरमा चलचित्र क्षेत्रका विविध विधामा आफ्नो प्रतिभा प्रदर्शित गर्दै पटकथा लेखक, निर्देशक, निर्माताका रुपमा सक्रिय सम्पदा मल्ल ‘दायित्व यशोदा पन्त पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।
मल्ल त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातक र भारतको पञ्जाब प्राविधिक विश्वविद्यालयअन्तर्गत एसियन एकेडेमी अफ फिल्म्स एन्ड टेलिभिजन (दिल्ली)बाट चलचित्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेर आजसम्म निरन्तर क्रियाशील हुनुहुन्छ ।
विभिन्न भारतीय टेलिशृङ्खलाहरुमा पटकथा लेख्नुका साथै ‘कठपुतली’ र ‘च्यान्टी’ जस्ता नेपाली चलचित्र निर्माण गरेकी सम्पदाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा धेरै सम्मान र पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।
उहाँ प्रसिद्ध नाट्यसंस्था सर्वनामको सृजनशील निर्देशक रही ‘बान्की प्रोडक्सन’को नेतृत्वमा रहेर चलचित्रसम्बन्धी विभिन्न कार्यमा सक्रिय हुनुहुन्छ ।
सानो उमेरमै लेखन, निर्माण र निर्देशन गर्दै चलचित्र र नाट्य क्षेत्रका महत्त्वपूर्ण विधाहरूमार्फत समाज रुपान्तरणमा निर्वाह गरेको उल्लेख्य भूमिका र बहुप्रतिभाको उच्च मूल्याङ्कन गर्दै दायित्व वाङ्मय प्रतिष्ठानले नगद एघार हजार रुपयाँसहित ‘दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार २०७८’द्वारा सम्पदा मल्ललाई पुरस्कृत गरिएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।