
काठमाडौँ, साउन २५ / दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा कथाकार भरतकुमार श्रेष्ठ ‘विवश’ द्वारा लिखित ‘अपहरण’ कथासङ्ग्रहको एक समारोहका बीच लोकार्पण गरियो ।
कृति लोकार्पण गर्दै डा. ध्रुवचन्द्र गौतमले कथाकार भरतजीका कथाहरू औपन्यासिक आधारका रहेको बताउँदै कतिपय कथालाई तन्काएर लघुउपन्यास वा उपन्यास बनाउन सकिने बताउनुभयो । विवशको उपन्यास लेख्नसक्ने कला पनि यी कथाहरूबाट देखिएको गौतमले बताउनुभयो । ‘यसकारण अब आउने कृति उपन्यास होओस् भन्ने म चाहन्छु,‘ डा. गौतमले बताउनुभयो ।
कृतिमाथि समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै प्रा.डा. रामप्रसाद ज्ञवाली र ज्ञानु अधिकारीले ‘कथाहरू ग्रामीण परिवेशका, उच्च र निम्नवर्गका विभेदविरुद्धका र केही स्वदेश र केही विदेशी धरातल प्रतिविम्बित हुने खालका मझौलादेखि लामो आकारसम्मका रहेको तर सबै कथाहरूमा जीवन र जगत बोलेको’ कुरा उल्लेख गर्नुभयो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्व तथा कवि निराजन मौदगल्यको उद्घोषणमा सम्पन्न उक्त कार्यक्रममा लेखक भरतकुमार श्रेष्ठ ‘विवश’ले आफू परिस्थितिवश बेलायतमा बस्नुपरे पनि मन सधैँ नेपालमै रहेकोले नेपाली भाषासाहित्यलाई सधैँ माया गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका महासचिव डा. लेखप्रसाद निरौला, विश्लेषक प्रा.डा. सुरेन्द्र के.सी., समाजसेवी श्यामसुन्दर श्रेष्ठ र लेखककी ममतामयी माता मिसिरी श्रेष्ठले लेखकलाई शुभकामना दिनुभएको थियो भने सोही कार्यक्रममा विश्व नेपाली साहित्य महासंघद्वारा प्रदान गरिएको लघुकथा प्रतियोगिताबारेको द्वितीय पुरस्कार पनि लेखक भरतकुमार श्रेष्ठ ‘विवश’ लाई प्रदान गरिएको अध्यक्ष रामप्रसाद पन्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









