दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक एवम् प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहका बीच कवि श्यामबहादुर भावुकद्वारा रचित ‘फेरि जन्मन्छन् जन्मदैनन्’ काव्यकृति लोकार्पण गरियो ।

ब्रह्मवेत्ताचार्य अर्जुन विरक्ति तोत्रियको जीवनकथामा आधारित उक्त लोककाव्यको लोकार्पण गर्दै प्रा. दिनेशराज पन्तले— ‘लोकलयमा लेखिएका यस्ता कृतिहरू सर्वसाधारणले पनि बुझ्नसक्ने र जनमानसमा गहिरो प्रभाव छाड्न सक्ने भएकाले कवि भावुकले एउटा असल व्यक्तिको जीवनकथामा आधारित कृति लेखेर नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेको’ बताउनुभयो ।

कार्यक्रममा प्रमुख वक्ता प्रा.डा. रामप्रसाद ज्ञवालीले कृतिभित्रको सारतत्त्वलाई केलाउनुभएको थियो भने कृतिकार अर्जुन विरक्ति तोत्रिय, कृतिकार श्यामबहादुर भावुक र कवि यादव भट्टराईले पनि आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

कृतिभित्रका केही लाइन कविताहरू पाठ गर्ने कविहरूमा— डिल्लीप्रसाद मुलतिहुन, श्रीराम पौडेल, विष्णुमाया पौडेल, शिवनारायण जोशी, उर्मिला कोइराला र दीपशिखा मुखिया हुनुहुन्थ्यो ।

प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गोरक्ष पीठाधीश श्रीनाथ योगीजीले आशीर्वचन प्रदान गर्नुभएको थियो भने भूमिकालेखक त्रय प्रा.डा दुर्गाप्रसाद अर्याल, कवि भुवनहरि सिग्देल र हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले पनि शुभकामना दिनुभएको थियो ।

अन्त्यमा प्रायोजकको तर्फबाट कृष्ण अधिकारी र प्रकाश गौतमले यस्तो विशिष्ट कार्यक्रममा सहभागी हुन पाएकोमा कृतज्ञता प्रकट गर्नुभएको थियो । शब्दपथ