दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले असार ५ मा पाँच जना कविहरूको संयुक्त कवितासङ्ग्रह ‘आजको आकाश’ विमोचन गरेको छ ।

प्रा. डा. माधवप्रसाद पोखरेलले कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा सो सङ्ग्रहको लोकार्पण गर्नुभयो ।

कविहरू प्रह्लाद पोखरेल, जीवराज घिमिरे, डा. राजेन्द्रप्रसाद अधिकारी, रवीन्द्र आशिष शैली र आर. के. धर्मस्थलीका कविताहरू समाविष्ट सो कृति यसअघि पनि यही शीर्षकमा यिनै कविहरूद्वारा प्रकाशित कृतिको निरन्तरता हो ।

यसअघि यी कविहरूद्वारा २०४२ सालमा पहिलो पटक र २०६३ सालमा दोस्रो पटक कविताहरू प्रकाशन गर्नुभएको थियो ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल र साहित्यकार तथा गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक श्रीओम श्रेष्ठ रोदनले लोकार्पित कृतिका बारेमा बोल्नुभएको थियो भने पाँचै जना कविहरूले सङ्ग्रहबाट कविता वाचन गर्नुभएको थियो ।

प्रमुख अतिथि प्रा. डा. पोखरेलले नेपाली कविताको परम्परा र पाँच कविहरूको नेपाली कविताको संवर्द्धनमा गर्नुभएको योगदानबारे चर्चा गर्दै आयोजक संस्था दायित्व वाङ्मय प्रतिष्ठानको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रमका सभापति रामप्रसाद पन्तले कृति प्रकाशन गर्न पाएकामा दायित्व वाङ्मय प्रतिष्ठानका तर्फबाट खुसी र आभार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका सदस्य यादव भट्टराईद्वारा सञ्चालित सो कार्यक्रममा महासचिव डा. लेखप्रसाद निरौलाले स्वागत मन्तव्य र सदस्य डा. नम्रता पाण्डेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।