
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आयोजित एक समारोहका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. पूर्णचन्द्र ढुङ्गेलले शिक्षासेवी गोविन्दप्रसाद आत्रेयको आत्मकथाको कृति “यायावरीय अनुभूति” को लोकार्पण गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि ढुङ्गेलले आत्रेयको कृतिमा जीवनका विविध सन्दर्भ समेटिएको उल्लेख गर्दै यो आत्मकथाको मात्रै पुस्तक नभएर यसभित्र इतिहास लगायतका विषय पनि समाविष्ट रहेको औँल्याउनुभयो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पन्तले आगामी दिनमा अझै गहकिला कृति प्रकाशनको अवसर दिनुहुने छ भन्दै लोकार्पित कृतिका लागि बधाई ज्ञापन गर्नुभयो । लोकार्पित कृति दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित २०१औँ कृति हो ।
दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको बुढानीलकण्ठ नगरपालिकाअन्तर्गत रहेको आफ्नै भवनमा आयोजित कार्यक्रममा प्रा. डा. कृष्णचन्द्र शर्मा, प्राज्ञ दिनेशराज पन्त, युवराज मैनाली र नेपाल सरकारका सहसचिव निर्मला अधिकारीले लोकार्पित कृतिका बारेमा समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै कृतिले कृतिकार गोविन्दप्रसाद आत्रेयको बहुआयामिक व्यक्तित्वलाई प्रकट गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा कृतिकार गोविन्दप्रसाद आत्रेय, प्रतिष्ठानका सदस्य प्रा. डा. लेखप्रसाद निरौला र महासचिव यादव भट्टराईले समेत आफ्ना धारणा राख्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

