ऊ स्थानीयहरूबाट घेरिएको थियो । चुनावको सँघारमा एक सशक्त उम्मेदवारको रूपमा खडा थियो । आफ्नो दुनो सोझो गर्न, चुनावी नारा र भावी योजनाहरू प्रस्तुत गर्दै थियो ।

“यो स्थानमा प्रविधिमैत्री र गुणस्तरीय शिक्षाको विकास गर्छु ।” उसले पहिलो योजना प्रस्तुत गर्यो ।

भिडबाट प्रतिउत्तर आयो, “अब त्यसको आवश्यकता छैन । यस गाउँका युवाहरू बढी शिक्षित भएर सहर र विदेश पलायन भइसके ।”

“पचास शैय्याको अस्पताल र निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्छु ।”

“भो पर्दैन । तिम्रा अस्पतालमा कहिल्यै नदेखिने डाक्टर र औषधीभन्दा हाम्रा वैद्य बा नै ठिक छन् ।” फेरि उत्तर आयो ।

“घरघर पुग्ने  बाटोघाटो….”

उसले कुरा पुरा गर्ने नै पाएन उत्तर आइहाल्यो –

“त्यो पनि पर्दैन ! जथाभाबी खनिएको बाटोले भूस्खलन र वातावरणमा प्रतिकूल प्रभाव पर्न थालेको छ, कुरूपता छाएको छ । पहिलाकै बाटाहरू घाँडो बनेका छन् ।”

उसका प्रत्येक योजनाको प्रतिकूल उत्तरले एक क्षण त विचलित भयो तर पनि नाटकीय रूपमा मुस्कुराउँदै भन्यो, “ओहो ! सबै कुराले परिपूर्ण हुनुहुँदो रहेछ। अब के चाहनु हुन्छ त यहाँहरू ? जे आवश्यक छ,  म पक्कै पुरा गर्ने छु…”

भिडले एकै स्वरमा भन्यो, “मिथ्या सपना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट मुक्ति !”