छेपारो अचानक जेल पर्‍यो । देश विदेशकाले समाचार बनाउने मौका पाए ।

धेरैका मुखबाट एउटै वाक्य ध्वनित भएको सुनिन्थ्यो, “धेरैलाई हक दिलाउने, न्यायअन्यायको फैसला गर्ने, मरूभूमिका प्यासीलाई पानी पिलाउने, भ्रष्टलाई जेलको कठघरा मिलाउने छेपारो आफैं किन जेल पस्यो हँ ? अब निष्पक्ष रूपमा यसको छानबिन हुनुपर्छ ।”

म कछुवालाई साँचो कुरा कसले भन्छ र । मलाई खुलदुली भयो । मन छटपटी भइरह्यो । बिस्तारै ऊ भएको ठाउँमा पुगें ।

“बाहिर अनेक हल्ला सुनिन्छ छेपारो महोदय ! मलाई मेहनतको पाठ पढाएर सन्मार्गमा हिंडाउने तपाईं आज यहाँ कसरी ?”

लामो सुस्केरा हाल्दै छेपारोले भन्यो, “हेर भाइ ! ठाउँ र परिस्थितिअनुसारको काम गर्नै पर्‍यो । कहिलेकाहीँ रङ फेर्दा कसैको नजर त परिहाल्छ नि ।”

“महोदय भाषण र शासनमा त रङ फेर्नुभयो, फेर्नुभयो । देशविदेशमा नै भूकम्प ल्याइदिने गरी रङ कसरी फेर्नुभयो ।” सुस्तरी बोलें ।

फेरि रूप फेर्दै ऊ बोल्यो, “समयानुसार बाँच्नै पर्‍यो । हेर् त्यस्ता शक्तिशाली मानिएका भगवान् शिवको त पैसा देखेपछि तीन नेत्र खुल्छ रे ! म त छेपारो पो हुँ त ।”