“अनि, खै त  ! बालगोपाल सर ?” उनलाई नदेखेपछि आयोजकसँग सोधेँ मैले ।

वार्षिक साधारण सभा तथा स्मारिका विमोचन कार्यक्रम थियो आज । उनीहरूको संस्थाले विभिन्न सामुदायिक, साहित्यिक, सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको थियो ।

समाजका लब्धप्रतिष्ठित बालगोपाल सरको साहित्यिक दक्खल पनि अब्बल थियो । संस्थालाई अगाडि बढाउन उनले सल्लाह सुझाव दिइरहन्थे । संस्थाले गर्ने साहित्यिक गतिविधिमा उनको महत्त्वपूर्ण योगदान रहन्थ्यो । मुखपत्र, स्मारिकाको लागि संस्थाको अनुरोधमा आफ्ना रचनाहरू उपलब्ध गराउन कत्ति पनि कन्जुस्याइँ गर्दैनथे । भाउ खोज्दैनथे । उनका रचनाले गर्दा कृतिको गरिमा बढ्थ्यो ।

तिनै बालगोपाल सरलाई नदेखेपछि अलि खल्लो महसूस गरी मैले प्रश्न गरेको थिएँ ।

“खबर त गरेका थियौँ तर आउन नभ्याउने जवाफ पठाउनु भयो । हामीले त अझ उहाँलाई संस्थाको आजीवन सदस्य बनाई सम्मान गर्ने प्रस्ताव पनि गरेका थियौँ…”  आयोजकले बेलिबिस्तार लगाए ।

कार्यक्रम सिद्धिएपछि घर फर्कंदै गर्दा भानुचोकमा उनीसँग जम्काभेट भयो ।

“हैन सर ! आजको कार्यक्रममा किन नआउनुभएको ? अझ आजीवन सदस्य बनाएर सम्मान गर्ने भन्दै थिए त, आयोजकले ।“ मैले जिज्ञासा राखेँ ।

“पैसाले किनेको आजीवन सदस्यताले कस्तो सम्मान मिल्छ ? कतै छोइयो कि त लुतो जस्तै सल्किहाल्ने, यो सदस्यताको रोग !”  रातोपीरो हुँदै उनले आक्रोश ओकले ।