एकदिन बिहानै मोबाइलमा म्यासेज आयो । त्यो हेरेपछि सुन्दर सिर्जनाकी धनी अन्जितालाई उडूँ कि गुडूँ जस्तै भयो । उनले तुरुन्तै म्यासेज लेख्ने प्रतिष्ठित व्यक्तिलाई फोन गरिन् । उनले ‘हार्दिक बधाई छ’ भने । अन्जिताले ‘हार्दिक धन्यवाद’ भन्न भुलिनन् ।
त्यसपछि सबै परिवारलाई आफूले पुरस्कार पाएको कुरा गरिन् । सबैले भने- ‘‘जसले जति नै पित्तललाई शिरमा राखेर हीरालाई खुट्टामा राखे पनि जुहारीको हातमा पुगेपछि पित्तल र हीराको मूल्य निर्धारण हुन्छ भनेको ठीक नै रहेछ । अब तिम्रो भाग्य खुल्यो ।’’
सबैको कुरा सुनेर अन्जिताले हर्षको आँसु झारिन् । सासू, श्रीमान, छोराछोरी, बुढा, बाबुआमालगायत सबै आफन्तहरूले अझ प्रगति होस् भनेर आशिष दिए ।
अन्जिताकी छोरी आहानाले आमाको फोटो राखेर स्ट्याटस् लेखिन्— ‘आज हाम्री आमाको सपना साकार भएको छ । उहाँका सुन्दर कथाहरूको उच्च मूल्याङ्कन गर्दै कैलाश वाङ्मय प्रतिष्ठानबाट रु. पचास हजार राशिको पुरस्कार दिने निणर्य गरिएको छ । प्रतिष्ठानका अध्यक्ष श्री प्रभासज्यू, प्रतिष्ठान परिवारप्रति हार्दिकहार्दिक आभार प्रकट गर्दछौँ ।’
स्ट्याटस् राखेपछि अन्जितालाई फेसबुकमा र मोबाइलमा बधाई दिनेहरूको घुइँचो नै लाग्यो ।
उनी खुसीले गद्गद हुँदै मोबाइलमा नै व्यस्त भइन् । बेलुकीको साढे पाँच बजेतिर फेरि एउटा म्यासेज आयो । अन्जिता सिँढी ओर्लिंदै थिइन्, उभिएर यसाे म्यासेज हेरिन् । भन्न रिँगटा चल्यो । सिँढीबाट खुरमुरिइन् । मोबाइल पनि टुक्रा भयो ।
हस्पिटल पुर्याउँदा नपुर्याउँदै उनको प्राणपखेरु उड्यो ।
हस्पिटलमा पुगेपछि टुक्रिएको मोबाइललाई जोडेर आहानाले रुँदै बाबुलाई म्यासेज देखाइन् ।
लेखिएको थियो— ‘कृपया माफ गर्नुहोस् । आज अप्रिलफुल हो ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।