ऊ ट्राफिक चेकिङमा पर्यो । ऊसँग ब्लुबुक थिएन । उसलाई समात्यो । उसले आफूलाई समात्ने ट्राफिकसँग छाडिदिनको लागि बिन्ती बिसायो तर उसले अलिपर उभिरहेको अफिसरतिर इङ्कित गर्दै भन्यो– “त्यहाँ सरलाई भन ।”
त्यो अफिसरले जरिवानाबापत हजार रुपिँयाको चिट काट्न सहयोगीलाई आदेश दियो । यो सुनेर उसले प्रतिवाद गर्न खोज्यो– “हैन सर ! यो त अति नै भयो । ब्लुबुक बिर्सेको त एक सय रुपैँया मात्र जरिवाना होइन र ?”
“त्यसो भए यो बाइक यहीँ छाडी राख र ब्लुबुक ल्याएर लैजा ।” ट्राफिक अफिसरले ठुङना लागेको सर्पले फणा उठाएझैँ अनुहार बनाएर भन्यो– “खुब मलाई नियम सिकाउने ? नियम जान्नेले आफू पनि नियममा हिँड्नु नि।”
ट्याक्सि समाएर घर जाउ फेरि आउ उसले हिसाब गर्यो उस्तै पर्ने भो । त्यसमाथि समयको बर्बाद । यसपछि उसले लुरुक्क परेर अफिसरले तोकेको हजार रुपैँया जरिवाना तिर्यो । हिँड्ने बेलामा अफिसरतिर फर्केर ऊ मुस्कुरायो किनकि अनावश्यक झन्झटबाट उसले मुक्ति पाएको थियो ।
ऊ मुस्कुराएको देखेर ट्राफिक अफिसर पनि मुस्कुरायो किनकि अलिकति उसलाई पनि आमदानी भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।