“हार्दिक बधाई एवं शुभकामना।‘मन छुने साहित्य पुरस्कार, २०७९’ यहाँले प्राप्त गर्नु भएको छ। जुन साहित्य जगतको ठुलो पुरस्कार मानिन्छ। धेरैको मन छुँदै साहित्यिक यात्रामा यहाँसम्म आइपुग्दाका तिता मीठा अनुभव सहित आफ्नो मन्तव्य राखिदिन अनुरोध गर्दछु।”

उद्घोषकले पुरस्कृत साहित्यकारलाई मञ्चमा बोलाउँदै भने।पुरस्कार वितरण समारोहमा सर्जक,पाठक र उनका शुभेच्छुक साहित्यानुरागीको ठुलो उपस्थिति थियो।

मन्तव्यको क्रममा उनले भने, “आत्मसन्तुष्टि पाएको छु ।एउटा पहिचान बनाएको छु। तपाईंहरू जस्ता यति धेरै पाठकको माया पाएको छु।यो भन्दा मीठो अनुभव के हुन सक्छ र ?”

दर्शकहरूले पररर ताली बजाए।

“मीठोसँगै तीतो पनि अवश्य हुन्छ।मेरो पनि तीतो अनुभव पक्कै छ।”

दर्शक जिज्ञासु भावमा उनका अनुभव सुन्न आतुर भए।

“मैले लेखेको साहित्य मेरा परिवारले पढ्दा पनि पढ्दैनन्। मलाई साहित्यकार भनेर पत्याउँदा पनि पत्याउँदैनन्। बत्तीमुनि अँध्यारो छ ” खिन्न मुद्रामा उनले भने।