“हैन !अहिलेसम्म खाना पाकेको छैन दुलही ? किन हौ आज भोलि तिमीले ढिलो गर्छ्यौ नि !” बुहारीलाई सम्झाउँदै आमा भान्सा कोठातिर लाग्नुभयो ।

“लौन नि ! किन ढिलो भनेको त मोबाइल पो चलाएर बसेकी ! यो पाराले कसरी खाना पाक्छ ? अस्ति पनि सब्जी डढेर खाई नसक्नु भएको थियो ।”

“आमा मैले त्यसै मोबाइल चलाएको छैन। खाना पकाउँदै अफिसको काम गर्दै छु । सब्जी त कहिलेकाहीँ त्यहीँ बसेर पकाउँदा पनि डढ्छ नि ।”

“अफिसको काम त उतै पो गर्नुपर्ने हो ! खाना पकाउँदा अलिक ध्यान देऊ हइ !” आमा मोबाइलमा दोहोरी गीत हेर्दै आफ्नो कोठातिर लाग्नुभयो।

“आमा ! अफिसमा आज मिटिङ बस्ने भएकोले  अलिक ढिला  हुन् छ। नातिनीलाई स्कुलबाट आउँदा खाजा दिनु हइ !”   हतारिएर  बुहारी अफिसतिर लागिन्।

“हजुरआमा ! मलाई भोक लागेको छ,खाजा दिनु न ।”

“पख् न नातिनी ! एउटा सिरियल सकिन लाग्या छ । “मोबाइलमा व्यस्त हुनुभयो उहाँ ।

केही दिनमा उनी पर सरिन् ।आमा भान्से हुनुहुन्थ्यो ।

“अझै खाना पाकेको छैन । अफिस जानलाई ढिलो भयो आमा ।”

भान्सा घरमा उनी  जाँदा दोहोरी गीत हेरेर मस्त हुनुहुन्थ्यो आमा ।

“आमा …आमा… । खै खान दिनु न । बुहारीले भन्न थालिन् ।

खाना पस्किँदै भन्नुभयो, ” बुहारी ! डढेको भातको माम्री त मलाई कस्तो मिठो लाग्छ ।”