“तिमी कत्ति भाग्यमानी ।” भुइँमा फालिएको पुस्तकले भन्यो ।

“किन आरिस गर्छौ ?  पालोको पैँचो त हो नि,” रक्सीले भन्यो ।

किताबले मानिसलाई विवेकी बनाउँछ तर रक्सीले विवेकहीन । किताबले सचेत, रक्सीले अचेत, किताबले मार्गदर्शन गर्छ, रक्सीले दिग्भ्रमित, तर पनि मानिस पुस्तक पढ्न भन्दा रक्सी खान चाह राख्छ । त्यति मात्र कहाँ हो र ! किताब फुटपाथबाट आधा मूल्यमा बिक्री हुनथाल्यो तर रक्सी सिसाले सजाएको दराजबाट इज्जत साथ बिक्री हुन्छ ।

“मानिसलाई यत्रो गुन लगाएको छु तर मलाई भुइँमा फ्याँकेर तिमीलाई सिसाको दराजमा सजाएर राख्छ मान्छे,” किताबले आरिसे भावमा दराजतर्फ हेर्दै भन्यो ।

“पहिले मानिस मात्ने गरी पढ्थे र सुरक्षा साथ किताब दराजमा राख्थे । अहिले मात्ने गरी पिउँछन् र रक्सी सुरक्षा साथ सिसाको दराजमा देखिने गरी राख्छन्,” रक्सी हाँस्यो भन्यो, “अझ भनौँ पहिले किताबको चाह थियो चोरी हुन्थ्यो तर अहिले बरु रक्सी चोरी हुन्छ किताब हुँदैन ।”

किताबलाई चित्त बुझेन । उसले सोध्यो, “विद्वान पनि मूर्ख पनि तिमीलाई नै मन पराउँछन् त । किन ?”

रक्सीले बडो गजबले हाँस्दै उत्तर दिए, “किनकि तिमी सस्तो छौ ।”