“गहिरिएर हेर त, यही हो पर्दा च्यातिन लागेको भाग, देख्यौ ? बायाँ आँखाको यथाशीघ्र अपरेसन गर्नुपर्छ बा ! भोलि नै गरौं है त !”

प्रोफेसर डाक्टरले प्रयोगात्मक अभ्यासको पहिलो दिन विद्यार्थी डाक्टरहरूलाई  सिकाउँदै एक जना बिरामी वृद्धलाई सम्झाए । डाक्टरको सल्लाह पाएका वृद्ध व्यक्ति सहमतिको टाउको हल्लाउँदै बाहिरिए ।

अर्को बिरामी युवक आँखा मिच्दै डाक्टरको जाँच कक्षमा आइपुग्यो। डाक्टरले उसको पनि आँखा जाँच गर्दै भने, “देख्यौ सबले ? यो भाइको पनि दायाँपट्टिको पर्दा च्यातिन लागेको रहेछ ! तर, अपरेसन गर्नु पर्दैन भाइ, कुरो बुझ्यौ ? सामान्य लेजर थेरापी गरेर च्यातिएको ठाउँ टाल्दिन्छु, ठिक भैहाल्छ !”

डाक्टरको कुरो सुनेर युवक पनि टाउको हल्लाउँदै बाहिरियो ।

प्रोफेसरले ती दुई बिरामीहरूलाई दिएको परामर्श सुनेपछि एक जना विद्यार्थी डाक्टरले छक्क पर्दै प्रश्न गर्‍यो । “समस्या एकै खाले भए पनि दायाँ र बायाँ आँखाको उपचार विधि फरक हुने रहेछ हैन प्रोफेसर ?”

उसको कुरा सुनेर प्रोफेसरले अर्ध मुस्कान दिंदै भने, “गलत ! खासमा, सफल वा  असफल नतिजाको लागि गौण तथा प्रक्रियागत बुझाइ प्रधान रहन्छ, वृद्धहरूमा अपरेशनको प्रयोग, बुझ्यौ ?”