
पहिलेका वर्षभन्दा यस वर्ष कमैया मुक्तिका नारा निकै जोडले घन्के । यसै विषयमा जोडिएर ठुला ठुला मुद्दा उठे ।सङ्घसंस्थाहरू खुले । कार्यकर्ताहरू कर्मचारीजस्तै परिचालित भए । माहौल हेर्दा ठुलै परिवर्तन होलाजस्तो आभास भइरहेको थियो । कुनै समयमा शोषकले कुम्ल्याउने रकम गाउँ गाउँमा पुगेको अनि असहाय र वृद्धलाई दिइने भत्ताको सुरुवात भएकोभन्दा पनि ठुलो लाग्ने यो परिवर्तनको खाका पनि निकै रोचक ढङ्गले कोरियो ।
कमैयाबाट मुक्त भएर आफ्नो स्वतन्त्र जीवन जिउन कसलाई पो मन लाग्दैन र ? यस्तै चाहना बोकेका र पुर्खाकै पालादेखि कसैको दाससरह भई बाँचेका थुप्रै नागरिकमध्येको एक थियो : नन्दु । आफ्नो एउटा सामान्य जीवन बिताउने आधार भए त जे गरेर भए पनि ज्यान पाल्न सकिन्थ्यो भन्ने कुरा उसका मनमा खेलिरहे । नभन्दै २०५७ को साउन दुई गते कमैया मुक्तिको घोषणा भयो पनि । सधैँ पीडाले नलाग्ने निद उसलाई यसपालि हर्षका कारणले लागेन । यो मुक्तिको समाचारले कति सामन्तले निन्याउरो मुख पारे भने कतिले चाहिँ “हेरौँला हामी पनि” दाह्रा किटे ।
नन्दुको परिवार मुक्त भयो । बल्लतल्ल स्वतन्त्र भएका परिवार कहिले कसलाई कहिले कसलाई भेटेर रमाए । भेटघाट र खुसी बाँड्ने काम सकिएसँगै नन्दुलगायतका मुक्त कमैया बाँच्ने भविष्यको गोरेटो र खाका पनि धमिलो हुँदै गए । न खाने अन्न न सन्तानको शिक्षादीक्षाको कुनै बाटो भयो उनीहरूको । हिजो कम्तीमा मालिकको घरमा ढुक्कले बसेको परिवारले आज गाउँभरि मागेर पनि छाक टार्न सकेन ।
यता नन्दु पुरानै मालिककहाँ गएर हजुरकै दास बनी बस्न पाऊँ भनी बिन्ती बिसाउँदै थियो भने उता कमैया मुक्तिको मुख्य नारा बनाएर तिनै गरिबको भोटले बहुमतका साथ चुनाव जितेको पार्टीले मन्त्रीमण्डल गठन गरिसकेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
