हिमालको शीतल हावामा शान्तिको झण्डा फहराउने शान्त पहाडमा मनप्रसाद  बस्दथे । जीवनको एउटा कालखण्डमा उनी आफ्नो सादगीपनप्रति पूर्ण रूपमा सन्तुष्ट थिए । बिनागुनासो मनको एकाग्र सन्तुष्टिमा हराउँथे, आफूभन्दा अर्को यस उचाइमा को छ भन्ने भानसम्म उनमा हुन्नथ्यो । आफ्नो खेतबारीमा पसिना चुहाएर परिवारलाई खुशी राख्न पाउँदा उनले असीमित आनन्दको अनुभूति गरेका थिए । साधा जीवन उच्च विचारको धरायान उनको गन्तव्यको स्वाभिमान थियो । उनी आफूसँग भएका चिजले अभावमा परेका जोसुकैलाई भए पनि बिनासर्त सहयोगका हात फैलाउँथे । यसैले समाजमा उनको वाह ! वाह ! थियो ।

एकपटक गाउँभरि समृद्धिको स्वर गुन्जिएपछि उनको मनमा पनि आशक्तिको बीजारोपण भयो । द्रव्यमोहको मनोविज्ञानबाट प्रभावित भएर उनले समुदायमा रहेको इज्जत र परिवारको सुमधुर सम्बन्धको बेवास्ता गर्न थाले । यस मनोविज्ञानबाट ग्रसित मनप्रसादले सामाजिक सम्बन्धको पर्बाह नगरी थप रकम जम्मा गर्न सबै खाले अवसरको उपयोग गर्न लागे ।

दाताबाट खसेर कन्जुसको आसन पक्रे । सहयोगीबाट खसेर डाहाडे, ईर्ष्याखोरका पिरुकामा झरे । द्रव्यमोहको  महत्त्वाकाङ्क्षाले उनलाई विश्वासघाती बाटोमा डोर्‍यायो, जहाँ मित्रता ओइलियो अनि उनको सामाजिक सम्बन्धमा तुषारापात भयो, परिवारका सदस्यले सबै खाले भौतिक सुख पाए तर उनको स्नेह अनि सामीप्य पाएनन्, उनलाई द्रव्याशक्तिले पछ्याइरह्यो । जसरी उनको भौतिक चाहनाको भार बढ्दै गयो, सोही अनुपातमा आन्तरिक शून्यता पनि बढ्दै गयो । पछिल्लो पटक उनका जीवन्त भौतिक रङ्गहरू असन्तुष्टिको छायामा फिका भए । अन्तमा उनले पत्ता लगाए कि हृदयको वास्तविक धन सिक्का वा सम्पत्तिमा मापन गर्न नसकिने रहेछ । दयालु र सन्तुष्ट जीवनको सादगीपनमा पाइने मनोवैज्ञानिक समृद्धि र भौतिक समृद्धिबिचको असन्तुलनले गर्दा एक समयको सम्मानित मानिसमाथि छाया परिसकेको थियो ।

उनले सहस्रौँ प्रयास पहिलेकै अवस्थामा जान गरे पनि हल्का आकर्षणको अँठ्याइले लठ्याएपछि असलको उचाइ उक्लन पाइला अघि सरेनन् । पाइला सरेको बाटोको विश्वास हट्नु र सर्दै नसरेका पाइलामा मनको विश्वास उचालिनुले उनी विक्षिप्तको गर्तमा डुबुल्की मार्न पुगे । एक तमास छटपटाउन… चिच्याउन…  उत्पात…  विपनामा नै.. .गन्तव्यहीन दौडमा प्वाँख छुट्टिएको निकै उचाइको चरोजस्तै…भए ।