“गुनासो मनमै थन्क्याएर छिट्टो उम्रिऔँ ।” रातो मकैले मन खोल्यो ।

सेतो मकैले अटेरी भाव झल्काउँदै झटपट भन्यो; “बल्ल त माटाले छोपिएको छु । अलिक दिन अँध्याराको स्वाद लिने त्यसपछि आरामले निस्किने ।”

किसानले मकै रोप्दा उनीहरू दुवै संयोगले एकै ठाउँमा पुरिएका थिए । रातो मकै चाँडै उम्रिएर सांसारिक उज्यालाको सुन्दरता चाख्न चाहन्थ्यो । घामशीतसँग मितेरी लगाउँदै हावाहुरीसँग गीत सुसेल्दै फुल्न चाहन्थ्यो; फल्न चाहन्थ्यो, आफूजस्ता कैयौँ सन्तान संसारलाई दिएर ऋणमुक्त हुन चाहन्थ्यो । अरूलाई बँचाउँदै आफू पनि अघाउँजी बाँच्न चाहन्थ्यो ।

यसरी सेतो मकै माटाभित्रै गुम्सेर बस्यो । राता मकै लगायतका अरू मकैहरू टुसाए, दिनको ताप चाखे; रातको सुवास लिए र रमाए ।

भोको लोखर्के आहाराको खोजीमा भौँतारिँदै त्यहीँ आइपुग्यो । सारा मकै उम्रेछौ भनेर गुनासो ग¥यो । यस ठाउँमा उम्रनुपर्ने मकै किन उम्रेन भन्दै खोस्रियो । सेतो मकैको दानो सग्लै देख्यो ।

खुशी हुँदै लोखर्केले भन्यो; “मेरो भोक मेट्न तँ नउम्रेको ?”

सेतो मकैले रोइकराई गर्यो । हारगुहार माग्यो । आफ्ना दौँतरीलाई हेर्‍यो । उनीहरू हलहल बढिरहेका थिए । एकापसमा मायापिरती गाँसिरहेका थिए । घरजमको सरसल्लाह र सन्तान दरसन्तान बढाउने कुरा गरिरहेका थिए ।

उनीहरूको जीवन देखेर सेतो मकैले थुक घुटुक्क निल्यो र लोखर्केलाई भन्यो; “आऊ मित्र, मलाई खाऊ । समयसँग हिँड्न अल्छ्याइँ गर्नेको हविगत यस्तै हुन्छ भनेर संसारलाई अवगत गराऊ ।”