उसको जिन्दगी गहिरो खाल्डोभित्र थियो । जहाँ यात्रा थिएन, तर यात्रा देखाउनेहरू थुप्रै थिए ।
फेसबूकमा उसका साथीसङ्गीहरू हाँसिरहेका हुन्थे- हिउँको पग्लँदो उज्यालोमा, समुद्रको लहरसँगै, गगनचुम्बी महलका अगाडि । दृश्यभन्दा झन् चम्किलो हुन्थ्यो ‘क्याप्सन’।
उनीहरूको आँखामा आत्मविश्वास थिएन, तर फ्रेमभित्र त्यसको अभिनय राम्रै थियो ।
उसको मन रित्तिँदै गयो, जसरी उसले हेर्ने झ्यालभित्रको आकाश सधैं उस्तै नीलो हुन्थ्यो, तर कहिल्यै ‘पोस्ट’ हुने आकर्षण थिएन ।
सामाजिक सञ्जालमा स्क्रोल गर्दा साथीहरू हाँसिरहेका देखिन्थे ; राराको छेउ, समुद्रको छालसँग अनि आइफेल टावर अगाडि हात फैलाएर । उसलाई हरेक फ्रेममा ‘सुख’ कैद भएको जस्तो लाग्थ्यो ।
फेसबूक, टिकटक तथा इन्स्टाग्राम हेर्दा उसलाई हीनताबोध हुन्थ्यो । भ्रमणका फोटो तथा भिडियोमा उनीहरूले ईर्ष्याको पोज दिएका हुन्थे ।
ती फोटा तथा भिडियो देखेर उसको मन कुँडिन थाल्यो ।
उसलाई ऋण काढेर भए पनि विदेश जाने मन लाग्यो ।
उसको प्रस्तावमा श्रीमतीले सहर्ष भनी – ऋण काढ्नु पर्दैन बुढा । मेरा सबै गहना बेचेर घुम्न जाऔं ! यी गहना लगाएको कसले पो देख्छ र ?
उसले गुनासो गर्यो – म बिरामी हुँदा त गहना नबेचौं, पछि किन्न सकिंदैन भनेर ऋण खोजेका थियौ त !
उसले ट्राभल एजेन्सीलाई फोन गरेर भन्यो – भाइ, सबैभन्दा सस्तो विदेश भ्रमणको प्याकेज कहाँ छ ?
उताबाट उत्तर आयो – दिल्ली, ताजमहल ।
उसले भन्यो – मैले भारत हैन विदेश भ्रमणको प्याकेज सोधेको !
उसले भन्यो – सस्तो प्याकेज त थाइल्यान्डको हुन्छ ।
उसले फेरि सोध्यो – दुई जनालाई कति खर्च लाग्छ ?
उसले भन्यो – के के गर्ने हो ? कस्तो होटेलमा बस्ने हो ? कहाँ कहाँ भ्रमण गर्ने हो ? त्यही अनुसारको प्याकेज हुन्छ ।
उसले भन्यो – हामीलाई सडकको खाना, अँध्यारो सुत्ने कोठा र वाइफाइ भए पुग्छ। हामी भ्रमणको लागि हैन, फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि मात्र जाने हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









