“दाइ, तपाईंसँग एक मुट्ठी माटो छ ?” उसले सोध्यो ।

मैले उसको अनुहारमा हेरें । उसका शुष्क आँखाहरूमा अनौठो याचना देखें । झूत्रो कपडाले ढाकेको शरीर काँपिरहेको थियो । अञ्जुलीमा एक अपेक्षा थियो तर त्यो के हो, मैले बुझिनँ । कैयौँ दिनको भोको जस्तो लाग्ने उसले कि पैसा माग्नुपर्थ्यो कि खानेकुरा । तर माटो माग्दैछ जुन जहीँकहीँ भेटिन सक्छ । यहीँकहीँ भेटिन सक्छ ।

“किन चाहियो तिमीलाई माटो ?” मैले सोधेँ ।

उसले मेरो प्रश्नको उत्तर दिनुभन्दा मेरो अनुहारमा एकोहोरो हेर्‍यो । कतै मानसिक असन्तुलन भएको मान्छे त होइन, भनेर म डराएँ ।

शायद उसले मेरो आँखाको भाव बुझ्यो र मुस्कुराएर भन्यो, “म पागल होइन । म माग्ने पनि होइन ।“

“मैले कहाँ त्यसो भनेको छु र ?” मैले प्रतिवाद् गरेँ ।

“भन्नुस् न त त्यसो भए, तपाईंसँग एक मुट्ठी तपाईंको देशको माटो छ ?” उसले फेरि सोध्यो ।

“यो मेरो देश हो महाशय ! यता वरिपरि जति माटो देखिन्छ, त्यो सबै मेरो देशको माटो हो । तर मेरो हातमा अहिले नै तिमीलाई दिन एक मुट्ठी माटो छैन ।“ ऊ पागल होइन भन्ने कुराको यकिन भैसकेपछि मैले ढुक्कसाथ भनें ।

उसको अस्तित्वलाई अस्वीकार गरेर बाटो लाग्न पनि खोजेँ ।

“पख्नुस् हाकिम साब् ।“ उसले मलाई रोक्न खोज्यो ।

“म हाकिमसाकिम होइन ।“

“अँ त नेताज्यू ।“

“म नेतासेता पनि होइन ।“

“श्रीमान् श्रीमान् ..!” भन्दै ठूलो स्वरमा ऊ हाँस्यो ।

“म एक साधारण मान्छे हुँ ।“ म पनि अलिक ठूलो स्वर गरेर कराएँ र आफ्नो बाटो तताएँ ।

ऊतिर फर्केर पनि हेरिनँ । फटाफट पाइला चालेँ ।

भोलिपल्ट म सधैँ घरबाट निक्लने समयमा  फेरि पनि ऊ दोबाटोमा भेटियो । मलाई देखेर हाँस्यो । म उसलाई बेवास्ता गर्दै बाटो लाग्न खोजेँ । ऊ दडिएर आयो । मेरो दाहिने हात समातेर तान्यो र मेरो हातमा एक मुट्ठी माटो राखिदियो । दुबै हातले जोड गरेर मुट्ठी बनाइदियो । मेरो हातभित्र एक मुट्ठी माटो जकडियो ।

“अहिले तपाईंको हातमा यो देशको माटो छ । यसलाई जोगाएर राख्नुहोला ।“ भन्दै ऊ फरक्क फर्केर कुद्‍यो ।

मैले ऊ गएको बाटो हेरिरहें । मुट्ठी खोल्दा मेरो देशको माटोको सुवास नाकसम्म आइपुग्यो । एक्कासि आँखा धमिलो भएर आयो । विस्मृतिबाट एक चित्र स्पष्ट भएर आयो । ऊ अरु कोही नभएर शरणार्थी क्याम्पमा भेटिएको त्यही देशविहीन मान्छे थियो जो पछि तेस्रो देश पलायन भयो ।