टोलमा रहेको अनाथ बालबालिका गृहमा खानपिनको अभाव भयो । त्यहाँका संरक्षकहरु सहयोग सङ्कलनको लागि घरदैलो अभियानमा निस्कियो । उनीहरु ठूलो अपेक्षासहित पहिले त उद्योगपति र व्यापारीहरुकहाँ पुगे । उनीहरुले सहयोग गर्न अस्वीकार गर्यो । भन्यो कि संस्था र अफिसले विज्ञापनबाहेक चन्दा सन्दा दिने नीति अवलम्बन गरेको छैन । त्यसपछि उनीहरु केही आशा लिएर घरानाहरुकहाँ पुगे । त्यहाँबाट पनि रित्तै हात फर्किए ।

उनीहरु सडक किनाराका पसलेहरुसँग हात फैलाउँदै अघि बढ्यो । पसलेहरु कोही कोहीले सय पचासका नोटहरु दिँदै थिए । सडक छेउछाउमा रहेका पसलहरुमा हिँडिरहेको भिड देखेर एकजना भिखरी बुढो पनि त्यतातिर लाग्यो ।

“आज के हुँदैछ छ यहाँ ?” उसले सोध्यो ।

“अनाथ बालगृहमा खानपिन अभाव भइरहेको छ । यसको लागि सहयोग सङ्कलन गर्दैछौं ।” सहयोग सङ्कलक एकमध्येले सुनायो ।

“मैले पनि सहयोग गर्न सक्छु ?” त्यो भिखरी बुढाले भन्यो ।

“हा हा हा” व्यापारी, उद्योगपति र घरानाहरुले रित्तै फर्काई दिएको झोकले रन्थनिएका उनीहरु भिखारी बुढाको कुरा सुनेर हाँसे ।

“आफै त मागेर बाँचिरहेछ । उसैले सहयोग गर्ने रे ।” केही केहीले त उसको खिसिट्युरो नै पो गर्न थाल्यो ।

भिखारी बुढाले कुनै प्रतिक्रिया दिएनन् । ऊ चुपचाप त्यही उभियो र सात फन्को लाएर कम्मरमा बाँधेको पटुको फुकाउन थाल्यो । सबैलाई लाग्यो– “साला पागल भिखारी । केको चटक देखाउँदैछ ।” बुढाले पटुकोको अन्तिम टुप्पोमा बाँधी राखेको पोको फुकाल्यो र त्यहाँ लुकाएर राखेको दश हजार रुपैयाँ झिकेर चन्दा सङ्कलकहरुको झोलीमा हालिदिए ।

यो दृष्य देखेर अघि खिसिट्युरी गर्ने सबै संवेदित भए । उनीहरुले भने, ‘होइन, होइन । हामीलाई पर्दैन । तपाईं आफै राख्नुस् ।’

भिखारी बुढाले भन्यो, “म त एकछाक यसै मागेर खाइहाल्छु । आज हो कि भोली उमेरले पनि डाँडा काटिसक्यो । ती कलिला नानीहरुको त जीवन छ । भविष्य छ । मलाई यो पैसाको के काम ।”

यति भनेर भिखारी बुढा त्यहाँबाट ओझेल पर्यो ।