“पर्सितिर रोपाइँ हो घरमा, सुन्तली आइज हइ ! म पनि तेरो रोपाइँको दिनमा सघाउन आउँछु नि !”

“ल ल आउँछु । तर, कति गरामा रोपाइँ गर्ने हो र ?”

“धेरै हइन त्यस्तै १५-२० गरामा ।”

“भोलि मासुभात पकाएर राख, म आउँछु।” यति भनेर  पल्लाघरे काँइलाकोमा सुन्तली गइन् ।

“के गर्दै हो सेती ? तिमीलाई त विदेशतिर पैसा कमाउन व्यस्त भएर फोन गर्न पनि फुर्सत छैन।” सुन्तलीले बिदेशमा बस्ने साथीलाई  फोनबाट कुराकानी गरिन्।

“हो नि सुन्तु ! साँच्चै भन्या, यता विदेशतिर   समयको कस्तो महत्त्व  छ । सेकेन्डको  समय नि खेर जाँदैन, घडीको सुइमा चल्नुपर्छ।

“सुन न म अर्को महिनामा नेपाल आउँछु ।धेरै बेरसम्म बसेर भलाकुसारी गर्नुपर्छ।”सेतीले उता फोनबाट भनिन्। “ल ल आउन पहिले तिमी  नेपाल ।”सुन्तलीले भनिन् ।

“कति दु:ख गर्छौ सुन्तली, यो खेतबारी र तिम्रो दु:ख देख्दा माया लाग्यो मलाई । उतातिर त काम गर्न सके पैसै पैसा छ ।”

“हेर सेती ! मलाई त यो मातृभूमिको धेरै माया लाग्छ । यहीँ जन्मे हुर्केँ । बुढा भएका आमा बालाई कसरी छोडेर जाने ,दाजु भाउजूले यहाँ छोडेर विदेशतिरै जानुभयो । अहिले म उहाँहरूको सहारा बनेको छु, नजाने म ।” अलि भावुक  भएर भनिन् उनले, “हो ! त्यहाँ सुख सुबिधा र रमाइलो छ  होला ? मान्छु, तर यहाँको जस्तो खुसी चाहिँ कोही  पनि छैनन् ।”