यमराजले एउटा आकर्षक सुनौलो मृत्युको प्रमाणपत्र मेरो हातमा थमाई दिँदै भने – “ल लिनुस् यो प्रमाणपत्र तपाईं चौहत्तर वर्ष पुगेपछि म लिन आउनेछु।”

यति भनेर उनी  बेपत्ता भए । मैले मनमनै सोचे, “ठिकै छ त । अझै धेरै लामो आयु बाँकी रहेछ ।”

मन हर्षले खुसी पनि भयो त्यो आकर्षक प्रमाणपत्रलाई सुरक्षित  रूपमा सन्दुक भित्र थन्क्याएर राखेँ । दिनहरू खुसी मै बितेर गए । बाँच्ने एउटा निश्चित आयु थाहा भएपछि खुसी लाग्नु स्वाभाविक नै थियो ।

जिन्दगी घोडाको रेस जस्तै दौडिरह्यो । सङ्घ, संस्थाका सेमिनार, गोष्ठी, प्रवचनका कार्यक्रमहरूमा भ्याई नभ्याई थियो । मान, सम्मानका प्रमाणपत्र र पदकहरूको चाङ लाग्दै गयो । बैठक कोठा सम्मान पत्र  र पदकहरूले सजिसजाउ भए । सभा, समारोह, सम्मेलन र घर व्यवहार, व्यापार बिजनेसको व्यस्ततामै समयले नेटो काटेको नि पत्तै भएन ।

एक दिन बैठक कोठामा आराम गर्दै थिएँ । भित्ता भरी झुन्डिएका मान-सम्मानका प्रमाणपत्रहरूले मलाई एकोहोरो हेरिरहेका थिए । गर्वले मेरो छाती ठुलो भयो। मन पुलकित हुँदै खुसीको सञ्चार बढ्दै थियो ।

अचानक मलाई यमराजले दिएको त्यो मृत्युको  प्रमाणपत्रको याद आयो । सन्दुक खोलेर हेरेँ ।

सुनौला अक्षरहरू मलाई हेर्दै मुस्कुराई रहेका थिए । उमेरको हिसाब गर्न थालेँ चौहत्तर वर्ष पुग्न मात्र एक महिना बाँकी रहेछ ।