“उफ्रिंदै खुशी हुँदै तलाउको छेउमा पुग्यो ।” सदाझैँ हिजो पनि बाबाले सानेलाई काखमा राखेर सिरकले गुटुमुटु पारेर कथा सुनाउँदै थिए ।

हत्त न पत्त सानेले सोध्यो- “के उफ्रियो ?”

“बाँदर क्या ।” उनले भने ।

“अनि के भयो त ?” उत्सुक बालखको जिज्ञासाले फड्को मार्यो । कथा मिलाउँदै गए बाबा चाहिं, “बाँदरले तलाउमा माछो बुर्कुसी मारेको देख्यो । उसलाई लाग्यो माछो पानीमा डुब्न लाग्यो । यसलाई कसरी बचाउने ? सोच्न थाल्यो ।”

“अनि कसरी बचायो त ?” सानेले ठाडो कान लगाएर सोध्यो ।

उनले भन्दै गए, “तलाउको डीलमा बसेर बाँदर सोच्दै थियो, माछो त छेउमै आइपुग्यो । उसले च्याप्प समातेर पाखामा फाल्यो ।”

“अनि !” साने अझै उत्सुक भयो ।

“अनि के हुन्छ ! माछो भट्याक भट्याक उफ्र्यो । बाँदर खुशी भयो ।”

“हो र बाबा, बाँदर खुशी भयो ?”

“हो त, बाँदरलाई माछो उफ्रिंदा खुशी भएको जस्तो लाग्यो रे ।”

“त्यसपछि के भयो ?”

“केही समय पछि माछो मर्यो ।”

“ला…!” सानेले पनि दुःख देखायो । अनि बाबाको नक्कल गर्दै भन्न थाल्यो, “सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला ।”

बाबाले चाहिं कथाको अन्त्य गराए बालख बुझ्ने शैलीमा, “त्यसैले त उल्टो काम गर्नेलाई ‘कस्तो बाँदर रहेछ,’ भन्छन् ।”