“जे मनमा आयो त्यही लेख्ने बहुलाही मात्रै हुन्छे । कि तँलाई पनि त्यतैको हावाले छोएको छ ?” कुरा गर्दागर्दै सुमीले भनी ।
उसका कुराले मेरो मनमा भुइँचालो नै गयो । म मनमा आएका कुरा कापीमा लेख्थेँ । बालाई देखाउँथेँ । उहाँ लेख्दै जानुपर्छ साहित्यकार बनिन्छ भन्नुहुन्थ्यो । ज्ञानविज्ञानमा कतै योगदान दिन सकिन्न भने पनि केही छैन तर आफ्नो मन अरूलाई सुम्पन त सकिन्छ भन्ने तर्क गर्नुहुन्थ्यो ।
बाको अर्को घतलाग्दो तर विवादास्पद कुरो थियो– अनुभव आफूभित्रै सीमित राख्ने मान्छे, मानव समाजकै अभिशाप हो । आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने मान्छे वरदान हो । अभिशाप बन्ने कि वरदान साबित हुने हरेकसँग मौलिक हक छ ।
त्यसै कुराबाट प्रभावित भएर मैले लेख्न थालेकी थिएँ । साथीहरूलाई देखाउँथेँ । केहीले तटस्थ विचार राखे पनि बहुसङ्ख्यकले मलाई नटबल्टु ढिला भएको ठान्थे ।
आज सुमीले मुखै खोलेर मेरो मन चिमोटी । आँखा आँसुले भरिए । आवाज भित्रभित्रै दबियो । मन एक तमासको भयो । तर्कवितर्कको थुप्रो लाग्यो ।
केही बेरमा मन बलियो बनाएर भनेँ; “कुकार्य गर्ने बदनामीको अखडा भयो संसार । उनीहरूकै अकर्मण्यतालाई निस्तेज पार्ने नयाँ सदस्य हुन लेखेकी हुँ मैले ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










