ऊ धनिराम ! तर उसको जीवन र नामबीच सधैं छत्तीसको आँकडा रह्यो।  उसले जीवनको लामो कालखण्ड जमिन्दारकोमा कमैया भएर बितायो।
२०५६ पौष मध्यतिर तराईलाई हुस्सुले खर्लप्प ढाकेको दिन, उसको जेठो छोरो लौटनले “बाबा देशमा शोशक्के अन्त्ये करक परल, जनतनके शासन नानक परल, परिवर्तन ओ विकाश नानक परल।” भन्दै लाल सेनाको पाईला पछ्याउँदै जङ्गल छिर्‍यो, उसले रोक्न कोसिस नगरेको होइन तर सकेन।

नारायण सुवेदी

त्यसपछि उसले आफ्नो जेठो छोरा लौटनको अनुहार कहिल्यै देखेन। त्यो नाबालकले के बुझेर छापामारको पछि लाग्यो यो कुरा पनि उसले कहिल्यै बुझ्न सकेन। त्यसको ठ्याक्कै दुई वर्षपछि कालाजारले उसकी जहान खसी, धनिराम र उसको दूधे बालकलाई एक्लै छोडी परमधाम भई। उसले दुःखले सानो छोरो भागीरामलाई हुर्कायो।

छोरो लौटनले बगाएको रगतले उसको जीवनमा परिवर्तन ल्याएन।उहीँ हलिया, उहीँ मजदूरी अनि उही दुःख। उन्नाईस वर्ष पुगेको केही दिन पछि एक दिन भागीरामले बालाई भन्यो, “बाबा मै बिदेश जैम पैसा कमैम, तै मजुरी नाइ जाइस।”
उसलाई मन त थिएन भागिरामलाई विदेश पठाउने तर एक दिन भागीराम दुबई उड्यो बोइङमा आधुनिक दास बनी।
एकाध महिनाहरु त राम्रैसँग बिते। धनिरामलाई लाग्यो अब त साँच्चै सुखका दिन आए खुसिका दिन आए, तर त्यो खुसी एक निमिस पनि टिकेन। दुबई पुगेको छ महिनामा भागीराम रातो बाकसमा फर्कियो। रंगशाला निमार्णमा उसले ज्यान गुमायो।
धनिराम आजकाल एक्लो छ, एउटा पुरानो रेडियो उसको साथी बनेको छ। ऊ सुन्छ त्यही रेडियोमा उसको छोरो लौटनको रगतले होली खेलेकाहरुको सत्ताको भागबन्डाको लडाइँ, अनि कान्छो भागिराम प्राण त्यागेको स्थानमा फलानो देशले यति गोलले खेल जित्यो/ हार्यो भनेको।
विचरा ऊ ! उसले त जिन्दगी का सबै खेलहरु हारिसकेको छ।